Logo

आयात प्रतिबन्ध खोल्न विश्व बैंकको सुझाव



काठमाडौं, कात्तिक १५ । विश्व बैंकले नेपालको अवस्था श्रीलंकाको जस्तो नभएको भन्दै केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ ।

सरकारले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै गत वैशाखदेखि निजी प्रयोजनका सवारीसाधन, महँगा मोबाइल, तयारी मदिरा, बढी क्षमताका मोटरसाइकल, खेल्ने तास, हीरा, सुर्तीजन्य पदार्थ, ठूला आकारका टेलिभिजनलगायत १० वस्तु आयातमा रोक लगाएको थियो ।

१० मध्ये ६ वस्तुको आयात प्रतिबन्ध भदौ दोस्रो साताबाट हटाए पनि कार–जीप–भ्यान, तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयातमा अझै प्रतिबन्ध छ ।

नेपाली अर्थतन्त्रलाई बलियो बनाउन आयातमा लागेको प्रतिबन्ध हटाउनुपर्ने विश्व बैंकको सुझाव छ । उसले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट नामक प्रतिवेदनबारे स्पष्ट पार्दै बैंकले नीतिगत ब्याजदर बढाउनुपर्नेमा समेत जोड दिएको छ । प्रतिवेदनमा नीतिगत ब्याजदर बढाउँदा आयात आफै निरुत्साहित हुने उल्लेख छ ।

त्यस्तै, अन्तस्शुल्क र भन्सार लगाइएको क्षेत्रमा मूल्य अभिवृद्धिकरसमेत लगाउन भनेको छ । ५१ पृष्ठको प्रतिवेदनमा हाल मूल्य अभिवृद्धिकर छूट दिइएका वस्तुको सूची घटाउनुपर्ने, स्थानीय तह र प्रदेशको खर्च क्षमता बढाउनुपर्ने, विद्युत्को आन्तरिक खपत बढाउनुपर्ने, जलविद्युत्मा लगानी ल्याउन भारत, बंगलादेशजस्ता मुलुकसँग सहकार्य गर्नुपर्ने, वैदेशिक लगानी नीति सुधार गर्नुपर्नेलगायत सुझाव छन् ।

विश्व बैंकका अर्थविद् ऐलिस जे ब्रुक्सले नेपालको अवस्था श्रीलंकाको जस्तो बन्दै गएको भनिए पनि वास्तवमा त्यस्तो नभएको बताइन् । कोभिडले केही कमजोर भएको अर्थतन्त्र र त्यसलगत्तै आयातमा परेको उच्च चापका कारण केही समस्या देखिए पनि हाल सुधार हुँदै गएको भन्दै उनले ढुक्क हुन आग्रह गरिन् ।

ब्रुक्सले सरकारको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४२ प्रतिशत हुनु, आयात घट्दै जानु तथा विदेशी मुद्रा सञ्चितिमा देखिएको सकारात्मक सुधारले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको स्पष्ट हुने बताइन् ।

बैंकले अहिले कृषिमा जलवायु परिवर्तनको असर देखिन थालेको र यही अवस्था रहे नेपालका हाइड्रोपावरहरूमा समेत प्रत्यक्ष असर पर्न सक्ने चेतावनी दिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot