Logo

पोलका अस्तव्यस्त तार हटाउँदै प्राधिकरण



काठमाडौं, कात्तिक १६ । काठमाडौं उपत्यकाको सडक पोलका अस्तव्यस्त तार हट्ने भएको छ । नेपाल विद्युत् प्राधिरकणले पोलमा अस्तव्यस्त रूपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार हटाउन लागेको हो ।

प्राधिकरणले त्यस्ता तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा तोकेको छ । प्राधिरकणले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रूपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

प्राधिरकणले त्यस्ता तारले सहर कुरूप बनाएको तथा आगलागीलगायतका विद्युतीय दुर्घटना बढेको र विद्युत् सेवा प्रवाहमा पनि असर गरेको जनाएको छ ।

आगलागी नियन्त्रण गर्न र विद्युत् सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्नसमेत निर्देशन दिएको छ ।

प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नांगो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेमीको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी, ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसाग तारको दूरी ५.५ मिटर कायम गर्ने प्राधिकरणले निर्देशन दिएको छ ।

११ केभी र ३३ केभी लाइनमा विद्युत्को तार र अन्य तारबीचको दूरी २ मिटर, अन्य ४ सय भोल्टका उपकरण र तारबीचको दूरी ७५ सेमी हुनुपर्ने प्राधिकरणले बताएको छ ।

प्राधिकरणले राउटर, रिपिटर, एक्ट्रयाक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एउटा मात्रै साइडमा क्रम मिलाएर, नहल्लिने, नझर्ने गरी क्लिप ब्यान्डको प्रयोग गरेर राख्नसमेत निर्देशन दिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot