Logo

उपेन्द्र यादव हराउन सिके राउत र जयप्रकाश ठाकुरबीच अघोषित मोर्चाबन्दी, यादव तनावमा



काठमाडौं, १६ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपाका जयप्रकाश ठाकुर हेभिवेट उम्मेदवार छन् । यी तीनमध्ये राउतको यो पहिलो संसदीय निर्वाचन हो । अहिले यादवलाई यीनै राउत र ठाकुर भारी पर्ने चर्चा चलेको छ।

यादव भने एमालेको समर्थनको कारण जित्नेमा ढुक्क छन् । उनी एमाले–जसपा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । यादव सोही क्षेत्रबाट ०७४ मा पनि विजयी भएका थिए । यता, जयप्रकाश ठाकुर भने पाँच दलीय गठबन्धनका साझा उम्मेदवारको रुपमा मैदानमा खडा भएका छन् । यादवले पटक पटक मधेश आन्दोलनको नाममा सत्ता–लाभ हाँसिल गरेको र मधेशी जनतालाई सधैं धोका दिएको ठाकुरको आरोप रहँदै आएको छ ।

उता, राउतले पनि यादवले सिंगो मधेशको लागि कुनैपनि राम्रो काम गर्न नसकेको आरोप लगाउने गरेका छन् । पछिल्लो समय यादवलाई हराउनको लागि राउत र ठाकुरबीच नै अघोषित साँठगाँठ हुने अनुमान गरिएको छ । यादवलाई हराएर गतिलो पाठ सिकाउनुपर्नेमा दुवै नेता सहमत छन् । उपेन्द्र यादव पनि यसपटक चुनाव जित्न फलामको चिउरा चपाएसरह हुने भएकोले चुनावी मैदानमै खटिएका छन् । उनी सप्तरी २ मा चुम्बकझैं टाँसिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot