Logo

‘सोमप्रसाद पाण्डेसँग जनमत भएको भए ४३३ भोट मात्र आउँछ ?’ : ठाकुर गैरे (भिडिओसहित)



काठमाडौं, १७ कात्तिक । नेकपा एमालेका नेता एवं पाल्पा-१ का उम्मेदवार ठाकुर गैरेले गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेको पदलोलुप र स्वार्थी प्रवृत्तिविरुद्ध जनता आफ्नो पक्षमा उभिएको दाबी गरेका छन् ।

‘पाल्पा २ मा लगातार पाँच पटक एमालेले जितेको हो, सोमप्रसाद पाण्डेले होइन । उहाँको जनमत भएको भए स्थानीय तहमा एकीकृत समाजवादीको ४३३ भोट मात्रै आउँछ ? जब कि एमालेको मत ३२ हजार छ,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गैरेले भने ।

पाल्पाको कांग्रेस आफ्नो  प्रतिस्पर्धी नभएको पनि उनले बताए । उनले भने, ‘म कांग्रेस, राप्रपाको पनि साझा उम्मेदवार हुँ । उहाँहरुसँग एमालेको मित्रता र सहकार्य छ ।’
सुन्दर पाल्पा, सुखी पाल्पाली, समृद्ध पाल्पालीको एजेन्डा लिएर आफू निर्वाचनमा होमिएको पनि गैरेले बताए ।

उनले भने, विकासका दृष्टिले पाल्पा धेरै पछाडि परेको छ । यसको कारण के हो भने पाण्डेले पाँच पटकसम्म जिते पनि काम गर्न सक्नुभएन । मेडिकल कलेज छ तर बिरामी हुँदा अन्यत्रै जानुपर्छ । खानेपानीको समस्या छ । मसँग सुन्दर पाल्पा, सुखी पाल्पाली, समृद्ध पाल्पालीको भिजन छ, कमिटमेन्ट छ । उनले आफूले जितेमा लिफ्टिङ खानेपानीको महसुल निःशुल्क गरिदिने पनि बताए ।

पाण्डेले आरोप लगाएजस्तो आफू धोकेवाज नभएको पनि गैरको दाबी छ । उनले भने,”एउटा व्यक्ति पाँचौं पटक जितेर छैटौं पटक लड्नुपर्ने कारण के छ ? अब फेरि टिकट पाउँदिनँ भनेर पार्टी बदल्ने धोकेवाज कि म ? म पार्टी एकताको पक्षमा उभिँदा कसरी धोकेवाज हुन्छु ?”



प्रतिक्रिया दिनुहोस्