Logo

देउवा र प्रचण्डले मलाई राष्ट्रपतिमा थन्क्याउन खोजेका होलान् तर म कार्यकारीमै दाबी गर्छुः रामचन्द्र पौडेल



काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेस वरिष्ठ नेता एवं तनहुँ १ का उम्मेदवार रामचन्द्र पौडेलले आलंकारिक राष्ट्रपति नभएर कार्यकारी पदमै आफ्नो दाबी रहेको बताएका छन् ।
‘सुशासन नभईकन मुलुक सम्पन्न हुन सक्दैन । सुशासन दिन सक्ने नैतिक सामर्थ्य मसँग छ । लि क्वान युले ३० वर्षमा सिंगापुर बनाए । दक्षिण कोरिया पनि ३० वर्षमै बन्यो । तर हामी राजनीतिक अस्थिरतामा अलमलिएकाले केही पनि हुन सकेन । तनहुँका जनताको आशीर्वाद लिएर यसपटक म प्रत्यक्ष कार्यकारीमा हस्तक्षेप गर्न चाहन्छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने ।

‘देउवा र प्रचण्ड किन हुने, म किन नहुने ?’
शेरबहादुर देउवा र प्रचण्डबीच मंसिर ४ पछि प्रचण्डलाई प्रधानमन्त्री र तपाईंलाई राष्ट्रपति बनाउने सहमति भएको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘मलाई थन्काउने कोसिस त पहिले पनि भएको हो । ३० वर्षसम्म पञ्चायतमा नझुकेको मै मात्र हुँ । मलाई मुलुकका निम्ति केही गर्न मन छ । उनीहरुबीच के कसो सहमति छ, मलाई जानकारी छैन । म प्रश्न गर्न चाहन्छु, उनीहरु किन प्रधानमन्त्री हुने, म किन नहुने ? पहिले म चुनिएर संसदमा जान्छु, त्यसपछि थाहा हुन्छ ।’

‘गगन थापाले प्रधानमन्त्री दाबी गर्ने बेला भएको छैन’
युवाले प्रधानमन्त्री दाबी गर्ने बेला नभएको पनि पौडेलले बताए । उनले भने, ‘युवा किन प्रधानमन्त्री हुने, म किन नहुने ? म गगन थापाजस्ता सबैलाई भन्छु । उनीहरु यहाँसम्म मैले ल्याएका मानिस हुन् ।’

‘गोविन्दराज जोशीसँग मलाई हराउने ताकत छैन’
तनहुँ १ मा आफूलाई हराउने ताकत गोविन्दराज जोशीसँग नभएको पनि पौडेलले दाबी गरे । उनले थपे, ‘२०७४ मा म झुक्किएँ । यहाँ त उसले बिगारिसकेको रहेछ । थात ठेगान नभएको मान्छेको कुरा मसँग नगर्नुस् । कहिले एमालेको पछि लागेको छ, कहिले कसको पछि लागेको छ ? अब उसलाई एमालेले समर्थन गर्छ, कि उसले एमालेलाई छाड्छ । कांग्रेसको एकलौटी ३३ हजार भोट छ, माओवादीको ८ हजार भोट छ । सबै एकतिर भए पनि मलाई हराउन सक्दैनन् । मैले चुनाव जितिसकेको छु ।’

‘भात खाएको ठाउँमा सिता खस्छ नि’
यसपटक अन्तर्घातको सम्भावना नभएको पनि उनको भनाइ छ । पौडेलले भने, ‘अहिले गोविन्द भट्टराई, धु्रव वाग्ले, रघु पौडेल अहिले मसँगै हिँडेका छन् । प्रदीप (पौडेल) लाई काठमाडौं र शंकर (भण्डारी) लाई तनहुँ २ मा लगेर थन्काएँ । गोविन्दले पनि इच्छा गरेको भए चितवनमा लगेर थन्काइदिन्थें । अझै पनि केही असन्तुष्टि होलान् । भात खाएको ठाउँमा सिता खस्छ नि ।’ उम्मेदवारीमा कमजोरी नभएको भए कांग्रेसले ९० मा ९० सिट नै जित्ने स्थिति बन्ने पनि उनले औंल्याए ।

‘प्रचण्ड र मेरो स्वार्थ मिलेको छ’
रामचन्द्र पौडेलको गाडीमा रुख, हँसिया हथौडा र कलम राख्नुपर्ने कस्तो दिन आयो है भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, ‘अहिले प्रचण्ड र मेरो स्वार्थ मिलेको छ । हाम्रो स्वार्थ संविधान बचाउने हो, प्राप्त उपलब्धिको रक्षा गर्ने हो ।’ विस्तृत शान्ति सम्झौता गरेर सेना, हतियार र पार्टी अलग गरिसकेकाले माओवादीसँग डराउनु नपर्ने पनि उनले बताए ।

‘केपी ओलीजति गफाडी को होला ?’
केपी शर्मा ओलीले कांग्रेसलाई गफाडी भन्नु हास्यास्पद भएको पनि टिप्पणी पनि उनले गरे । ओलीले भने, ‘केपी ओली जति गफाडी को होला ? घरघरमा ग्यास, पानीजहाज, रेल आउँछ, भन्दियो, जनता मख्ख परे । के आयो त ? केपी ओलीसँग कसले सक्छ र ? अनि कांग्रेसलाई भन्ने ? कांग्रेस जे भन्छ, त्यही गर्छ ।’

‘गाउँलाई बसौं बसौं बनाउनुपर्छ’
अब राजनीति र विकासलाई सँगसँगै लिएर जानुपर्ने पनि उनले औंल्याए । पौडेलले भने, ‘खालि विकास भएन भएन भन्नु सस्तो कुरा हो । गाउँगाउँमा सडक, विद्यालय भवन र स्वास्थ्य चौकी आदि पूर्वाधार बनेका छन् । मानिसको गालामा लाली भरिएको छ । सरदर आयु ५१ वर्षबाट ७१ पुगेको छ । विकास कहिल्यै पूरा नहुने प्रक्रिया हो । आवश्यकता रबरजस्तै तन्किँदै जान्छ ।’
कृषि र पशुपालन सँगसँगै लैजाने, रैथाने बाली जोगाउने, कच्ची सडकलाई कालोपत्रे गर्ने, पर्यटनको विस्तार र ऊर्जाशक्तिको विकासमा आफूले प्राथमिकतामा राखेको पनि पौडेलले बताए । उनले थपे, ‘अब हामीले गाउँमै आम्दानी र रोजगारी पुर्‍याउनुपर्छ । गाउँलाई बसौं बसौं बनाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot