Logo

प्रदीप ज्ञवालीको कटाक्ष- मंसिर ४ पछि गठबन्धनका दुईजना प्रधानमन्त्री बन्ने हो ? (भिडिओसहित)



काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) का नेता एवं गुल्मी १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एमालेको शक्तिबाट डराएर नेतैनेताको गठबन्धन बनेको आरोप लगाएका छन् । ‘एमालेको ताकतसँग सबै दल डराएका छन् । केपी शर्मा ओलीलाई गफाडी भन्ने आरोप लगाएका छन् । गफाडी नै भन्ने हो भने शेरबहादुर, प्रचण्ड, माधव नेपाल, महन्थ ठाकुर, बाबुराम भट्टराई, वामदेव गौतम मिल्दा पनि किन डराएको त ? किन यत्रो गठबन्धन गरेर आएको त ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले भने ।

चुनाव हार्ने डरले गठबन्धनले भावी प्रधानमन्त्री समेत तोक्न नसकेको भन्दै उनले कटाक्ष गरे । ज्ञवालीले थपे, ‘चुनाव हुन अब १६ दिन बाँकी छ । गठबन्धनले आगामी प्रधानमन्त्री को समेत भन्न सकेको छैन । कांग्रेस भन्छ, शेरबहादुर देउवा माओवादी भन्छ, प्रचण्ड । के मंसिर ४ पछि दुई जना प्रधानमन्त्री बन्ने हो ? नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री तोकेको छ ।’

उनले गठबन्धनले साझा घोषणापत्र समेत ल्याउन नसकेको आरोप लगाए । उनले भने, ‘चित्रबहादुरले भनेजस्तो संघीयता खारेज हुन्छ कि प्रदेशको संख्या बढ्छ ? प्रचण्डले भनेजस्तो प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुन्छ कि कांग्रेसले भनेजस्तो यथास्थितिमै रहन्छ ? रंगीबिरंगी घोषणापत्र के आधारमा कार्यान्वयन हुन्छ ?’ एमालेले सरकार चलाउन सकेनौं भनेर जनतालाई दण्डित गरे जनमत गरेर सम्मान गर्ने पनि उनले बताए ।

राष्ट्रिय राजनीतिमा भूमिका र जिल्लाको विकासका कारण आफ्नो जित मुस्किल नभएको पनि ज्ञवालीले दाबी गरे । उनले भने, ‘राष्ट्रिय राजनीतिमा एमाले जहाँ छ, जसरी नीतिगत नेतृत्व गरेको छ, म त्यसको एउटा महत्त्वपर्ण पात्र हुँ । विगत पाँच वर्षमा जिल्लामा १८ अर्बको योजना पारेको छु । रिडीबाट बागलुङसम्म कालीगण्डकीको किनारै किनार हेर्ने हो भने विकास देखिन्छ । गुुल्मीको कर्नाली भनिने गाउँहरु अहिले सुगम बनेका छन् । रेसुंगा एयरपोर्ट बनेको छ । लिफ्ट खानेपानीले काकाकुल गुल्मीबासीलाई राहत पुगेको छ । पालिकापिच्छे अस्पताल छन् । मेरो जितको आधार यिनै हुन् ।’



प्रतिक्रिया दिनुहोस्