Logo

एमालेको एकल बहुमत सरकार बन्छ, त्यसमा राप्रपा र जसपा पनि सामेल हुन्छन्ः विष्णु पौडेल



काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मंसिर ४ को निर्वाचनमा पार्टीको एकल बहुमत ल्याउने ठोकुवा गरेका छन् ।

‘निर्वाचनमा जनताको समर्थन नै निर्णायक हो । नेकपा एमालेप्रति जनताको असाधारण समर्थन छ । विगतमा सरकारमा रहेर गरेका काम, जनताको आशा र भविष्य अनि गठबन्धनका नाममा भएका बरबादी सम्झेर जनताले एमालेलाई एकल बहुमत दिन्छन् र केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।

एमालेले राप्रपा र जसपासँग गठबन्धन नभई तालेमल मात्र गरेको पनि उनले बताए । पौडेलले भने, ‘एमालेले पाँच दलले जस्तो गठबन्धन गरेको होइन, मत आदानप्रदानका लागि सहकार्य गरेको हो । तालमेल गरेको हो । एकल बहुमतको सरकार बने पनि राप्रपा र जसपालाई पनि सामेल गर्छौं ।’ साथै उनले हृदयेश त्रिपाठी, कमल थापाहरुसँग पनि तालमेल नै भएको औंल्याए ।

सरकार नेतृत्व गरेपछि केपी शर्मा ओलीले नक्सामा राखेका भूभाग फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुहोला भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, ‘नेपालको भूभाग नक्सामा समेट्नका लागि संविधान संशोधनको प्रस्ताव ओलीले नै गर्नुभएके हो । अब भोगचलन स्थापित गर्ने सन्दर्भमा सार्थक र कूटनीतिक पहल गरेर व्यावहारिक रुपमा जमिन फिर्ता ल्याउन एमालेसँग कूटनीतिक र राजनीतिक सामर्थ्य छ ।’

एमाले नेता पौडेलले राष्ट्रिय राजनीतिमा सशक्त, प्रभावकारी र गतिशील भूमिका, रुपन्देहीलाई देशकै विकासको पाठशाला बनाउन, हिजो सम्पन्न गरिएका विकास आयोजनाको प्रभावकारी सुसञ्चालनका लागि आफू उम्मेदवार भएको पनि बताए । उनले शिक्षा, स्वास्थ्य र रोजगारीको विकास एमालेको प्राथमिकता भएको पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्