Logo

सत्ताका लागि प्रचण्डले ‘महान जनयुद्ध’सँग सौदावाजी गरेको केपी ओलीको आरोप



महेन्द्रनगर, १९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगर र वैतडीमा हिजो (शुक्रबार) आयोजित चुनावीसभामा उनले देशको विकास, शान्ति, सुशासन र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताएका हुन् ।

विगतमा नेपाली काँग्रेसले २०१५ साल, २०४८ साल र २०५६ सालमा गरी तीनपटक बहुमत प्राप्त गरे पनि पाँचबर्ष सरकार चलाउन नसकेको वताउँदै एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उनले स्पष्ट पारे ।

‘२०७४ सालको निर्वाचनमा बहुमत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर अहिले हल्ला चलाइँदैछ, त्यस्तो होइन’ उनले भने–‘२०७४ मा एमालेलाई प्रत्यक्षतर्फ ८०, समानुपातिकतर्फ ४१ सिट गरी १२१ सिट आयो । प्रचण्डजस्ता पीँध नभएकालाई ल्याएर बहुमत पुर्याई सरकार गठन र पार्टी एकतासम्म गरियो तर सुग्रिवहरुले घरै भत्काएर गए । त्यसकारण यसपाली एमालेले एक्लै बहुमत ल्याउनुपरेको छ ।’

उनले अन्य मुलुकहरुको विकास राजनीतिक स्थायित्व र सुदृढ सरकारका कारण भएको तर नेपालमा भने च्याँखे थाप्नेहरुले बाजी मार्ने गरेको बताए । कुनै नीति, कार्यक्रम र गन्तव्य नभएका छतिर फर्केका गठबन्धनमा रहेका दलहरुले ‘काले काले मिलेर खाउँ भाले’ जस्तै देशलाई कसैले खुट्टा, कसैले हात, कसैले पीठ्युतिरबाट गिद्धले जस्तै लुछिरहेको बताउँदै अध्यक्ष ओलीले सत्ताका लागि प्रचण्डले ‘महान जनयुद्ध’सँग सौदावाजी गरेको बताए।

उनले भने,माओवादी भन्ने वित्तिकै प्रचण्ड र जनयुद्धका शहीद, तिनका परिवार, घाइते योद्धालाई एकैचोटी सम्झन्छु । बाँदरमुढे घटना सम्झन्छु । छोरी, बुहारी, भाइ, ज्वाई, नातागोताका लागि मरिमेट्ने भए ‘महान जनयुद्ध’ के का लागि रु जनयुद्ध स्वार्थका लागि सौदावाजीमा परिणत गरियो । ’



प्रतिक्रिया दिनुहोस्

Screenshot