Logo

शंकर पोखरेललाई धमलाको प्रश्न– केपी ओली राजतन्त्र फर्काउन लागेकै हो ?



काठमाडौं, २० कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ २ का उम्मेदवार शंकर पोखरेलले अदालतको सहारामा शासन गर्नेहरु मंसिर ४ पछि बिदा हुने बताएका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले जनादेश खण्डित गरेपछि केपी शर्मा ओली जनतामा जान खोज्नुभएको हो । लोकतन्त्र र संविधानवादको पक्षमा उभिँदै प्रतिनिधिसभा विघटन गर्नुभएको हो । जनताको एजेन्डा पूरा गर्न कार्यान्वयनमा अवरोध गरेकाले जनतामा जान खोज्नु स्वाभाविक हो । अब अदालतको सहारामा शासन गर्नेहरु बिदा हुन्छन्, मंसिर ४ पछि जनताको पक्षमा शासन गर्नेको सरकारमा जान्छन्,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने ।

नीति र नेतृत्वसहित जनताको बीचमा जान सक्ने एमाले मात्र भएको पनि उनले दाबी गरे । केपी शर्मा ओलीले राजतन्त्र फर्काउन लागेको हो भन्ने प्रश्नमा पोखरेलले भने, ‘नेपालको राजनीतिमा सबभन्दा ज्यादा २०४५ देखि पार्टीको मुख्य नेता हुनुहुन्छ प्रचण्ड । फरक मत राख्नेलाई पार्टीमा टिक्न-खान दिनुहुन्न । लोकतन्त्रलाई जोखिममा पार्ने र संसदीय राजनीतिलाई विकृत बनाउने शेरबहादुर देउवा हो भनेर दुनियाँले चिन्छ । उनीहरु नै ओलीलाई निरंकुश र राजतन्त्र फर्काउन लागेको भन्दै अफवाह फैलाइरहेका छन् । राजावादी कमल थापालाई गणतन्त्रवादी कसले बनायो ? केपी ओलीले होइन ? हिंसाको राजनीति गर्ने विप्लवलाई शान्तिप्रक्रियामा ल्याउने केपी ओली होइन ? विखण्डनको वकालत गर्ने सीके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने केपी ओली नै होइन ?’

कृष्ण सिटौलाविरुद्ध राजेन्द्र लिङ्देनलाई जिताउन एमाले किन लागेको त भन्ने अर्को प्रश्नमा उनले भने, ‘कृष्ण सिटौला व्यक्तिभन्दा उहाँले प्रतिनिधित्व गर्ने पार्टीको नीतिले सहयोग-असहयोग निर्धारण गर्छ । भारतले नाकाबन्दी लगाउँदा कांग्रेसले नाकाबन्दी भन्न सक्यो ? नयाँ नक्सा समेटिएका भूभाग फिर्ता लिन कुनै पहलकदमी भयो ?’

एमालेको आगामी सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी पनि उनले गरे । पोखरेलले भने, ‘एमालेसँग जुन राष्ट्रवादी ताकत छ, त्यो आधारमा भारत सरकारले भूमि फिर्ता गर्नुपर्छ । सुगौली सन्धि त्यसको अर्को आधार हो । हामीले भारतसँग विवाद बढाउन लागेका होइनौं, नेपालको भूभाग सुरक्षित गर्न लागेका हौं । आफ्नो सार्वभौमसत्ताको पैरवी गरेका हौं ।’

उनले प्रचण्ड र देउवाले जस्तो कुनै अपवित्र गठबन्धन नगरेको पनि दाबी गरे । पोखरेलले भने, ‘तीनवटा निर्वाचन क्षेत्रमा एमालेले राप्रपालाई सहयोग गर्छ । तीनवटा जिल्लामा राप्रपाले एमालेलाई सहयोग गर्छ । कांग्रेस विरुद्धको लडाइँमा र सत्ता गठबन्धन कमजोर बनाउन हामीले केही सिटमा तालमेल गरेका छौं । मधेस प्रदेशमा जसपा, कर्ण मल्ल, हृदयेश त्रिपाठी, कमल थापालाई हामी सहयोग गर्छौं । यसलाई अन्यथा लिने कुरा केही छैन ।’

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले राष्ट्रिय राजनीतिमा दाङको भूमिका बढाउन आफू प्रदेशबाट प्रतिनिधिसभाको उम्मेदवार बनेको पनि बताए । उनले भने, ‘दाङको विकासको चाहना बहुआयामिक छ । यहाँको आर्थिक र सामािजक विकास, स्वाभिमान वृद्धिको आधार म तयार गर्न सक्छु ।’

उनले गठबन्धनले एक तिहाइ सिट पनि नजित्ने दाबी गरे । पोखरेलले भने, ‘स्थानीय तहको निर्वाचनमा माधव नेपालको पार्टीले चार प्रतिशत मत ल्याउँदा पनि एमालेले ३४ प्रतिशत जनमत ल्यायो । अघिल्लो स्थानीय तह निर्वाचनमा ३३ प्रतिशत ल्याएका थियौं । यस अर्थमा गठबन्धनले एक तिहाइ सिट ल्याउनु पनि ठूलो कुरा हो ।’



प्रतिक्रिया दिनुहोस्