Logo

दाङ १ मा चार चौधरीको महासंग्राम (भिडिओसहित)



काठमाडौं, २१ कात्तिक । दाङ १ का प्रतिनिधिसभा उम्मेदवारहरुले कालोपत्रे सडकको विस्तार तथा स्तरोन्नति, नदीहरुमा तटबन्ध समस्या, गुणस्तरी स्वास्थ्य, शिक्षा र रोजगारीका मुद्दा अघि सारेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग चुनावी बहस गर्दै नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले यहाँको सबैभन्दा ठूलो समस्या राप्ती लगायत नदीहरुको तटबन्ध रहेको बताइन् । उनले भनिन्, ‘म ठूला सपना राख्दिनँ । पाँच वर्ष त फुत्तै जान्छ । स्वास्थ्य, शिक्षा र रोजगार यहाँको समस्या हो । सबैभन्दा ठूलो समस्या राप्ती नदीलगायतको तटबन्धन हो ।’ केपी शर्मा ओलीको सरकारले भालुवाङमा राजधानी ल्याए पनि त्यसको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता पनि उनले जनाइन् ।

हाम्रो नेपाली पार्टी (लौरो अभियान) उम्मेदवार गंगा सतगैंया चौधरीले पारिका नेताहरु आएर देउखेरी क्षेत्रका जनतालाई उपनिवेश बनाएको आरोप लगाइन् । उनले भनिन्, घोराही र काठमाडौं बस्ने, राजनीति गर्न देउखुरी आउने, झुटा आश्वासन दिएर चुनाव जित्ने अनि बजेट माग्दा दुव्यर्वहार गर्ने नेताहरुलाई अब पाखा लगाउनुपर्छ । लौरो अभियानको सरकार नबने पनि राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्ने पनि उनले बताइन् ।

थरुहट राष्ट्रिय मञ्चकी उम्मेदवार रुक्मिणी चौधरीले कृषि र पर्यटनको विकासमा जोड दिइन् । उनले भनिन्, ‘म अहिले नै यो दिन्छु, त्यो दिन्छु भनेर झूटो आश्वासन दिन्नँ । जातीय जनसंख्याका आधाारमा हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व गराउने, कृषि पर्यटनको विकास गर्ने लगायतका नौ बुँदा जनतासमक्ष राखेकी छु ।’

कार्यक्रममा नेकपा (समाजवादी केन्द्र) का नेता एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भालुवाङ–अघैया राप्ती करिडोर, श्रीनारायण चोकदेखि स्वर्गद्वारी मोटर बाटो, लमही, स्वर्गद्वारी केबुलकार लगायतका काम आफूले सुरु गरेको बताए । उनले थपे, ‘म मन्त्री भएको तीन महिनामात्रै भयो । एक महिनामा आचारसंहिता लाग्यो । खान नपाएका जनतालाई चामल बाँड्दा निर्वाचन आयोगलाई स्पष्टीकरण दिनुपरेको छ ।’

 



प्रतिक्रिया दिनुहोस्