Logo

ओनसरी र फुयाँलबीच कडा टक्कर



काठमाडौं, कात्तिक २२ । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तीव्र रूपमा चलिरहेको छ। प्रमुख राजनीतिक दलका नेता आ–आफ्नै निर्वाचन क्षेत्रमा खटिएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत विभिन्न पार्टीका शीर्ष नेतालाई देशभरका चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका बनाएर अघि बढिरहेका बेला काठमाडौंका जनताले भने कुन दललाई मतदान गर्लान् भन्ने चासो पनि उत्तिकै छ। अन्य जिल्लाभन्दा अलिक फरक मतदाता रहेकाले पनि काठमाडौंको चुनावी परिणामलाई महत्वका साथ हेर्ने गरिएको छ।

निर्वाचन मिति नजिकिएसँगै चुनावी अभियान तीव्र बनाएका राजनीतिक दलबीच प्रतिस्पर्धा बढेका बेला काठमाडौं २ मा यसको सरगर्मी बढेको छ। विगतमा जस्तै यसपटक पनि सबैजसो उम्मेदवार आफूले जित्ने दाबी गर्दै चुनावी अभियानमा जुटेका छन्।

राजनीतिक दलका नेताले विशेष गरी दलको सांगठनिक मतले चुनाव जित्ने प्रयत्न गरिरहेका छन्। काठमाडौं २ मा दलकै उम्मेदवार विजयी हुने आकलन भइरहेको छ। उम्मेदवारहरू आफ्नो प्रतिबद्धतापत्र तथा पार्टीको घोषणापत्रसहित मतदातासँग मत माग्दै घरदैलो अभियानमा पुगिसकेका छन्। एकसरो सबै स्थानमा पुगेर उम्मेदवारहरूले आफ्नो वस्तुस्थिति जाँच्ने प्रयास गरिसकेका छन्। उनीहरूले संगठन बलियो नभएका वडामा पनि सकेको प्रयास गरिरहेका छन्।

विगतमा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले चुनाव लडिरहेको क्षेत्र भए पनि अहिले माधव नेपाल रौतहट गएपछि दुई मुख्य दलका नेताबीच नै प्रतिस्पर्धा हुने निश्चित छ। एमालेबाट निवर्तमान प्रदेश सांसद रहेका स्थानीय मणिराम फुयाँल र रोल्पाबाट सिधै काठमाडौं चुनाव लड्न आएकी ओनसरी घर्तीबीच प्रतिस्पर्धा हुने अवस्था आएको छ। यस क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी पूर्वसभामुख माओवादी केन्द्रकी नेत्री घर्ती चुनावी मैदानमा आएकी छन्।

एमालेबाट उम्मेदवार बनेका फुयाँल त्यही क्षेत्रका स्थानीय नेता हुन्। भर्खरभर्खर केन्द्रीय तहमा आएका फुयाँल स्थानीय तहमा भिजेका नेता हुन्। विगतमा एमालेको पकड क्षेत्र रहेको काठमाडौं–२ लाई एमालेले नेतालाई पठाउन खोजे पनि स्थानीयस्तरबाट स्थानीय नेताको माग बढेपछि फुयाँल एकल रूपमा सिफारिस भएका थिए। ओनसरी घर्तीलाई भने गठबन्धन दलले निकै पछि निर्णय गरेर उम्मेदवार पठाएका हुन्।

विगतको सांगठनिक मत हेर्दा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन धेरैको छ। यो निर्वाचन क्षेत्रमा १० स्वतन्त्रसहित २९ जनाको उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारले कति जनताको मत जित्नसक्ने हुन् त्यो अड्कल गर्न अहिले गाह्रो भए पनि एमाले र गठबन्धन दलकै उम्मेदवारबीचको प्रतिस्पर्धा बलियो छ। एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने भनिए पनि यस क्षेत्रमा सम्भव भएन।

अहिले चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी घर्ती, एमालेका फुयाँलसहित जनता समाजवादी पार्टी (जसपा) का गोपालबहादुर तन्डुकार, राप्रपाकी कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधुसूदन पुडासैनीलगायत दलगत उम्मेदवार बनेका छन्। उनीहरूमध्ये फुयाँल र घर्तीबीचकै प्रतिस्पर्धा हुने भएकाले संगठनको मत पनि यी दुई नेतालाई नै आउने देखिएको छ।

२०७४ सालको निर्वाचनमा तत्कालीन एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए। नेपाली कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार ९०३ मत ल्याएका थिए। तेस्रो बनेका विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४३७ मत ल्याएका थिए। गत प्रतिनिधिसभा निर्वाचनमा ५३ हजार ४५ मत खसेको थियो। अहिले स्वतन्त्रबाट काशिराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोदप्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खड्का, बलराम चौलागाईं, कृष्ण अधिकारी र कृष्णराम पुरी चुनावी प्रतिस्पर्धामा छन्।

धेरै स्वतन्त्र उम्मेदवार भएकाले पनि कसले कति मत ल्याउने भन्नेले नतिजामा फरक पार्ने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्