Logo

प्रधानमन्त्रीको उम्मेदवार भन्दै विज्ञापन गर्ने बेला भएको छैनः देवेन्द्र पौडेल



काठमाडौं, २२ कात्तिक । शिक्षा मन्त्री एवं बागलुङ २ का उम्मेदवार देवेन्द्र पौडेलले चुनावपछि गठबन्धन भत्किने केपी शर्मा ओलीको भविष्यवाणी फेरि पनि नमिल्ने ठोकुवा गरेका छन् ।
‘लोकतन्त्रमा आफ्ना कुरा भन्न पाइन्छ । तर ओलीजीले ज्योतिषी शैलीमा विगतमा पनि धेरै कुरा भन्नुभयो, केही पनि मिलेनन् । स्थानीय तहमा सय सिट गुमेको उहाँलाई पत्तै छैन । उहाँका कुरा पत्याउने आधार छैनन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
देशभरि गठबन्धनका उम्मेदवारले शानदार रुपमा जितेर बहुमतको सरकार बनाए पनि प्रधानमन्त्रीको विज्ञापन गर्ने बेला नभएको पनि पौडेलले बताए । पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री को हो भन्ने प्रश्नमा उनले थपे, ‘गठबन्धनको अत्यधिक बहुमत आउँछ । संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्छ । तर चुनाव सम्पन्न नहुँदै सोकेसमा राखेर प्रधानमन्त्रीको विज्ञापन गर्ने बेला भएको छैन ।’
आफू अत्यधिक मतले जित्ने अवस्थामा रहेको दाबी पनि उनले गरे । पौडेलले भने, ‘विपक्षीभन्दा पाँच दलीय गठबन्धनको मतभार बढी छ । विकासका काम अधुरा भएको गुनासोबाहेक जिताउने कुरामा मतदाताको कुनै शंशय छैन । विकासका बाँकी काम सम्पन्न गर्नका लागि म प्रतिबद्ध छु । पालिका, प्रदेश र संघबीच पुलको काम गर्नेछु । मैले अत्यधिक मतका जित्छु ।’ आफ्नो क्षेत्रमा गठबन्धन दलहरुबीच मत विभाजन हुने कुनै संकेत नभएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot