Logo

प्युठानीले यसपटक ‘दुर्गा विसर्जन’ र ‘सूर्य-पूजा’ गर्ने संकल्प गरेका छन्ः सूर्य थापा



काठमाडौं, २२ कात्तिक । नेकपा एमालेका प्युठानका प्रतिनिधिसभा उम्मेदवार सूर्य थापाले पाँच दलीय गठबन्धन चारखुट्टे भइसकेको बताएका छन् ।
‘यसपटकको निर्वाचन उत्कर्षमा पुगेको छ । हामी मेसैसँग सबै वडा र पालिकामा जाँदै छौं । अब दुई पालिका र २० वडामा मात्र पुग्न बाँकी छ । यस दौरान पाँच दलीय गठबन्धन भेटिएको छैन । पाँच दलको एउटा खुट्टा जसपा हामीसँगै आइसकेको छ । चारखुट्टे दलमा सबैभन्दा बलियो नेपाली कांग्रेसको कुनै उम्मेदवार नभएकाले उसको साथ पनि मैले नै पाउने स्थिति छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।
गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले जित्छु भन्नु जुरेलीको कथा जस्तै भएको पनि उनले बताए । थापाले थपे, ‘दुर्गा पौडेलले एमालेले मानोमा मुरी मिसाएर जितायो । कहिले एमाले दाइ त कहिले कांग्रेस भाइको हात समातेर १० वर्ष सांसद बन्नुभयो तर ६४ वडामा पुग्नुभएको छैन । कोरोनाकालमा मास्कसमेत पठाउनुभएन । २० महिना म सल्लाहकार हुँदा एकचोटि पनि प्रधानमन्त्रीलाई भेट्नुभएन । दुर्गा पौडेलले गठबन्धनके बलमा जित्छु भन्नु जुरेलीको कथा जस्तो हो । अब मतदाताले दुर्गा विसर्जन गर्ने र सूर्यपूजा गर्ने संकल्प गरिरहनुभएको छ ।’
उनले आफ्नो पहलमा प्युठान राष्ट्रिय राजमार्गमा जोडिएको र आफूले जनताको जीविकासँग जोडिएका मुद्दा उठाएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्