Logo

उल्टो मतदान गरेर नेताहरुको अयोग्यता पुष्टि गर्न ब्याक भोट राष्ट्रिय अभियान नेपालको अपिल



काठमाडौं, २२ कात्तिक । ब्याक भोट राष्ट्रिय अभियान नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनको मतपत्रको पछाडी स्वस्तिक छाप लगाएर उल्टो मतदान (ब्याक भोट/नो भोट)गरेर नेताहरुको अयोग्यता पृष्टि गर्न आह्वान गरेको छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियानले ‘नो भोट’ को व्यवस्था भ्रष्ट, अनुत्तरदायी, दलाल सत्ताधारी पार्टीहरुले नगरेको हुनाले नेताहरुको अयोग्यता पृष्टि गर्न खोजिएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ब्याक भोट राष्ट्रिय अभियान नेपालका संयोजक कान्छाराम तामाङले देशलाई विकृतिबाट जोगाउन ब्याक भोट अभियान सञ्चालन गरिएको बताएका छन् ।

उनले देश रहेमात्र राजनीति गर्न पाइने र सुशासनको पाइला चाल्न सकिने भन्दै देशै रहेन भने आउने पुस्ताले पनि सराप्ने बताए । उनले भने,‘आगामी निर्वाचनमा नो भोट गरेर नेताहरुलाई अयोग्य, बहिष्किृत र राष्ट्रघातीहरु हुन् भन्ने प्रमाणित गर्न खोजेका हौं । यसमा सबैले साथ दिनुहोला । देशको सबै अवस्था बिग्रिदै गएको छ, यसको निकासको लागि बौद्धिक समुदाय, नागरिक समाज र राजनीतिक समुहहरुले मात्रै विद्यमान राजनीतिक,सामाजिक र आर्थिक बृद्धि गरी दलालहरुबाट राष्ट्रियता बचाउन सक्छन् ।’

तामाङले निसर्त बौद्धिक समुदाय, नागरिक समाज र राजनीतिक समुहहरुको राजनैतिक भेला गराइ संकटबाट देशलाई निकास दिन सरकारसँग जोडदार माग गरे । देशका जनताको अवस्था बिग्रदै गएको उल्लेख गर्दै उनले अहिलेका पार्टीहरुबाट देशलाई बचाएर अगाडी बढ्नुको विकल्प नरहेको धारणा राखे । उनले भने,‘दलाल पार्टी र तिनका उम्मेदवारहरु साथै यो निर्वाचन प्रक्रियामा पद, प्रतिष्ठा र लालचपुर्ति गर्ने उद्देश्यले सम्लग्न सबै उम्मेदवारहरुलाई मत दिएर राष्ट्रघात गर्नबाट रोक्न नो भोटको सुरुवात गरेका हौं । यसबाट निर्वाचन प्रणाली र निर्वाचन व्यवस्था नै ठिक छैन् भनेर प्रमाणित गर्नेछौं ।’ चुनाव बहिस्कार गरेर भोट नै हाल्न नजानुलाई उनले आत्मसमर्पणवादीको संज्ञा दिए ।
आगामी निर्वाचनको परिणामले देशघातलाई नै अग्रता दिने उनको भनाइ थियो ।

उनले जनतामा अत्यधिक आक्रोश घृणा बढ्रदै गइरहेको दाबी गरे । कम्युनिष्टहरुमा पनि अहिले विचलन आइरहेको उनको भनाइ थियो । पार्टीहरुमा आन्तरिक लोकतन्त्रको महासंकट रहेको बताउँदै उनले त्यसको शिकार वैचारिक तथा निष्ठावान क्रान्तिकारी कार्यकर्ताहरु नै भएको टिप्पणी गरे । लोकतन्त्रवादीभित्र घात, अन्तरघात र परिवावादले नै कालकुट बीषको भूमिका खेलिरहेको अभियानको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot