Logo

मकवानपुरमा निर्वाचनको तयारी तीव्र



काठमाडौँ,२३ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राति अवेरसम्म प्रत्येक मतदान केन्द्रमा पठाउने सामग्री तयार पार्ने र सिल गर्ने तथा मतदान केन्द्रमा कर्मचारी पठाउनेको विवरण तयार गर्ने लगायतका कार्य तीव्ररुपमा भइरहको बताइएको छ ।

अब केही दिनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएकाले यसका लागि मतपत्र मतदान केन्द्रपिच्छे छुट्याएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । मकवानपुरका १० वटै स्थानीय तहका मतदान केन्द्रमा चाहिने मतपत्र आइसकेको उनले बताए । समानुपातिकको मतपत्र पहिले नै आइसकेको र प्रत्यक्षतर्फको मतपत्र पनि आइतबार हेटौँडा आइपुगेको छ । निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवश्यक विभिन्न सामग्री कर्मचारीलाई तालिमपछि हस्तान्तरण गरिने सो कार्यालयले जनाएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न सबैले निर्वाचन आचारसहिताको पालना गर्नुपर्ने निरौलाले बताए । यसैबीच जिल्ला प्रशासन कार्यालयबाट जिल्लामा रहेका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण तथा अनुगमनसमेत भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारीे राजेन्द्रदेव पाण्डेको नेतृत्वमा मतदानस्थलको निरीक्षण भइरहेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदान केन्द्रको अवस्था, बाटोघाटोको अवस्था र सुरक्षाको अवस्थालाई ध्यानमा राखेर निरीक्षण गरिरहेको जानकारी दिए । उनले निर्वाचनलाई भयरहित र निष्पक्षरुपमा सम्पन्न गर्न वातावरण तयार भएकाले ढुक्क भएर निर्वाचन गर्न सबैलाई आग्रह गरे ।

जिल्लामा मतदानस्थल एक सय ६७ र मतदान केन्द्र तीन सय ६४ रहेका छन् । निर्वाचनमा दुई हजार नौ सय १२ कर्मचारी र एक हजार चार सय ४२ स्वयम्सेवक खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँ पुरुष मतदाताको सङ्ख्या एक लाख ५३ हजार पाँच सय २८ तथा महिलाको सङ्ख्या एक लाख ४७ हजार दुई सय र अन्यको सङ्ख्या पाँच रहेको बताइएको छ । जिल्लामा मतपत्र बदर हुन नदिन स्थानीय पालिकामा नमुना मतदान कार्यजारी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताए । साथै मतदात शिक्षा पनि पालिकामा जारी रहेको उनले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्