Logo

ओलीमाथि खनिए माधव नेपाल, निर्वाचनमा लुष्ट र भ्रष्टाचार गरेको पैसाको पूरै खोलो बगाएको आरोप



काठमाडौं, २४ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबारे कडा टिप्पणी गरेका छन् । पार्टी कार्यालय आलोकनगरमा आज (बिहीबार) विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको आलोचना गरेका हुन् । उनले अहिले एमालेले निर्वाचनमा पैसाको खोलो बगाएको पनि आरोप लगाए ।

उनले भने,‘केपी ओलीलाई आफूलाई कसैले ढाल्नै सक्दैनन् जस्तो लागेको थियो, ढाल्ने काम पनि गर्यौं । टक्कर दिनपनि सक्दैनन् भनेका थिए, टक्क दिएपछि अहिले तपाईले देखिरहनुभएको छ, केपी ओली बौलाएको, के के बोल्छन् ? के के बोल्छन् ? बर्बराएको ? के के बोलेको ? उट्पट्याङ कुरा गर्छन् । उनले के के बोले भनेर जम्मै एउटा संकलन निकाल्नुपर्छ। के के गालीगलौजको भाषा प्रयोग गरे ? भनेर ।’

उनले केपी ओलीमा आक्रोश र बदलाको भावना हाबी भएको पनि टिप्पणी गरे । उनले ओलीले अरुलाई अपमान गर्ने र आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति पालेर राखेको पनि आरोप लगाए । ओलीले पार्टी र राज्यभन्दापनि आफूलाई माथि ठान्ने प्रवृत्ति राखेको उनको आरोप थियो । उनले एमालेले चुनावमा गरेको खर्चको कुरा पनि कोट्याए । उनले भने,‘त्यो अरबौं अरब रुपैयाँ कहाँबाट ल्याए ? के उनको पार्टीभित्र पैसा फल्ने बोटहरु छ ? कुन आम्दानी छ ? आम्दानीको स्रोत के हो ? लुट र भ्रष्टाचार गरेको हुनाले अहिले उनले चुनावमा पुरै पैसाको खोलो बगाएका छन् ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot