Logo

काठमाडौँ–६ : भीमसेनदास प्रधान ढुक्क, जित निकाल्ने दाउमा सर्वेन्द्र खनाल



सचिना बानियाँ, काठमाडौंँ, २४ कात्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा ब्यस्त छन् । उम्मेदवारहरु आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारहरुले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् ।

काठमाडौँ क्षेत्र नं.६ मा पुराना उम्मेदवार र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पुरानै उम्मेदवार भीमसेनदास प्रधान चुनावी मैदानमा हुनुहुन्छ । नेकपा (एमाले)बाट पहिलोपटक सर्वेन्द्र खनाल प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस नेता प्रधान यसअघि दुईपटक सो क्षेत्रबाट सांसदमा निर्वाचित भइसक्नुभएको छ । विसं २०७४ निर्वाचनमा प्रधानले वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदीलाई एक हजार तीन सय मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।

पूर्व प्रहरी महानिरीक्षक खनाल केही समयअघि मात्र एमाले प्रवेश गर्नुभएको हो । उहाँ पहिलोपटक प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा उत्रनुभएको हो । काठमाडौँको राजनीतिका लागि खेलाडी मानिने प्रधान आफ्नो जितलाई कायमै राख्ने कसरतमा हुनुहुन्छ भने खनाल कांग्रेसको किल्ला भत्काउने दाउमा हुनुहुन्छ ।

कांग्रेसका उम्मेदवार तथा पुर्व रक्षामन्त्री प्रधानको नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जगेर्ना गर्नु प्रमुख एजेण्डा रहेको छ । उहाँले आफ्नो क्षेत्रभित्र रहेका परम्परा, संस्कृति, सम्पदा र संस्कारको जर्गेना गर्ने मुख्य लक्ष्य लिनुभएको छ ।
त्यस्तै, एमालेका उम्मेदवार खनालले सहरी बस्ती भएका क्षेत्रमा खानेपानी, ढल, विद्युतको समस्याको समाधान र काठ क्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्ने एजेण्डा लिएर चुनावी मैदानमा उत्रिनुभएको छ । आफ्नो क्षेत्रभित्र रहेका संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने उहाँको प्रमुख योजना रहेको छ ।

प्रधान र खनालसहित विवेकशील साझा पार्टीका अजित खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीका कमल न्यौंपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र नेपाल मजदुर पार्टीका सनकमान महर्जनले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिनुभएको छ ।

यसैगरी किरण इङनाम, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ (मास्के),खगेन्द्र ढकाल, जनकराज थपलिया, दिपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनको पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

सो क्षेत्रमा प्रतिनिधि सभा सदस्य एक पदको लागि कुल २४ उम्मेदवारी परेको छ जसमध्ये ११ स्वतन्त्र र १३ विभिन्न राजनीतिक दलका उम्मेदवार हुनुहुन्छ ।

उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका तीन, तारकेश्वर नगरपालिकाका आठ र टोखा नगरपालिकाका पाँच वडा समेटिएका छन् । जसमध्ये कांग्रेसले काठमाडौँका २६,२७,२८, तारकेश्वरका २,६,७,८,१०,११ र टोखाको वडा नंं १ गरी १० वडामा विजयी हासिल गरेको छ । एमालेले तारकेश्वरका १,९, सोही क्षेत्रभित्र पर्ने टोखाका ८,९,१० र ११ वडा गरी ६ वटा वडामा विजयी भएको छ ।

गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई केलाउदा कांग्रेस गठबन्धनको साथ बिना पनि बलियो देखिएको छ । कांग्रेसका वडाध्यक्षहरुले १७ हजार दुई सय ७७, एमालेका वडाध्यक्षहरुले १४ हजार २ सय ५६, नेकपा माओवादी केन्द्रले एक हजार चार सय ५७ र नेकपा –एकीकृत समाजवादी)ले सात सय ८० मत प्राप्त गरेका छन् । एमालेभन्दा कांग्रेस एक्लै पनि तीनहजार २१ मतान्तरले अगाडी छ ।

६२ हजार १ सय २ कुल मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र काठमाडौँ–६ मा ३२ वटा मतदानस्थल र ७५ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये २९ हजार ९ सय ६३ पुरुष र ३२ हजार १ सय ३८ महिला मतदाता छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot