Logo

‘नो रोड, नो भोट’ भन्दै सर्लाहीमा स्थानीय आन्दोलित, पुर्व–पश्चिम हुलाकाी राजमार्ग ठप्प



बखतियार अलि : सर्लाही २५ कार्तिक । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ मुसैलीमा ‘नो रोड, नो भोट’ भन्दै स्थानीयहरू आन्दोलित भएका छन् । स्थानीयवासीले हुलाकी राजमार्ग निर्माणमा लापरवाही र ढिलाई गरेको भन्दै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा रोक समेत लगाएका छन् ।

तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग निर्माणको काममा ठेकेदारले लापरवाही गरेको र वर्षौ बितिसक्दा समेत सडक अलपत्र परेको भन्दै स्थानीयवासीले पुर्ब पश्चिम् हुलाकी राजमार्गमा पूर्ण रूपमा बन्द गरेका छन् । उनीहरूले मङ्सिर ४ गते हुने चुनावका लागि भोट माग्न हिँडेका उम्मेदवार र उनीहरू चढेका गाडीलाई रोकेर सडकमै राखेको अवस्था छ ।

हुलाकी राजमार्ग निर्माणको काम समयमा नहुँदा वर्षाको बेलामा सडक हिलाम्मे भएर हिँड्न नसकिने र हिउँदमा सडकको धुलो उडेर घरमा बसि नसक्नु भएको वडा अध्यक्ष ईसा मिकरानीले बताए । हुलाकी राजमार्ग बनाउने भनेर राजनीतिक दल र तिनका नेताले पटक–पटक प्रतिबद्धता जनाएपनि सडक अलपत्र छाड्ने गरेका कारण अब विश्वास गर्न नसकिने स्थानीयवासीहरूको भनाइ छ ।

अलपत्र परेको हुलाकी राजमार्ग तत्कालै निर्माण गर्ने र दैनिक धुलो उड्न नदिन सडकमा पानी छर्ने प्रतिबद्धता जनाएमात्र अवरोध हटाउने स्थानीय सुजित यादवले बताए । हुलाकी राजमार्गको काम समयमा नसकिँदा तराई–मधेसका नागरिकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्