Logo

घनश्याम भुषाल हराउन एमाले–माओवादीको अघोषित साँठगाँठ, ओलीको निर्देशन यस्तो



काठमाडौं, २५ कार्तिक । टिकट नपाएकै कारण एमाले परित्याग गरेका घनश्याम भुषाल मंसिर ४ गते हुने निर्वाचनको लागि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुषालको पछिल्लो गतिविधि पार्टीको हितविपरित भएको थाहा पाएकै कारण टिकट नदिएको स्पष्ट पारेका छन् । भुषाल भने यतिवेला त्रिभुज चिन्ह लिएर मैदानमा उत्रिएका छन् ।

सो क्षेत्रमा एमालेबाट छविलाल विश्वकर्मा उम्मेदवार छन् । एमालेका शीर्ष नेताहरुले नै भुषालको उम्मेदवारीलाई लिएर प्रश्न उठाउने गरेका छन् । उनी भने वाम लोकतान्त्रिक गठबन्धनको सहयोगमा चुनावी मैदानमा उत्रिएका हुन् । तर, चुनावको मुखमा उनको पक्षमा खुलेरै गठबन्धनका नेताहरुले गतिविधि गर्न थालेका छन् । एमाले अध्यक्ष ओलीले त भुषाललाई हराउनको लागि जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

दलित आन्दोलनका टावरिङ पर्सानालिटी छविलाललाई चुनाव जिताउनु पार्टीको दायित्व भएको भन्दै दायाँबायाँ नगरी सक्रियताका साथ खटेर उनलाई जिताउन एमाले हेडक्वार्टरको निर्देशन छ । सोहीअनुसार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरु फिल्डमा खटिएका छन् । रोचक त के भने भुषाललाई हराउनको लागि कांग्रेस र माओवादीकै प्रभावशाली नेताहरु पनि सक्रिय भएका छन् ।

माओवादीले आफ्नो भागमा परेको सिट भुषालको लागि त्याग गरेको हो । सुरुमा अध्यक्ष पुष्पकमल दाहालले माओवादीकै चुनाव चिन्हबाट लड्न आग्रह गरेका थिए । तर, भुषालले भने माओवादीको साथ लिने तर चुनाव चिन्ह नलिने बताएपछि प्रचण्ड सशंकित बनेका हुन् । भुषालको राजनीतिक अडान गतिलो नभएको कारण उनले धोका दिने देखेर नै माओवादीको ठूलो पँक्ति यतिवेला उनलाई हराउन सक्रिय भएको स्रोतको दाबी छ ।

भुषाललाई हराउने र छविलाललाई जिताउने कुरामा ओली र दाहालको साँठगाँठ रहेकोबारे अहिले सो क्षेत्रमा चर्चा चुलिएको छ । राजनीतिका चतुर खेलाडी मानिने भुषालले पनि अहिले माओवादी आफूविरुद्ध लागेको थाहा पाएपछि चुनाव हार्ने डर पालेका छन् । उनी पछिल्लो समय निराश देखिन्छन् । उनको घरदैलोमा पनि पछिल्ला दिन जनसहभागिता ह्वात्तै घटेको छ । file photo



प्रतिक्रिया दिनुहोस्