Logo

नेपालगन्ज बनाएँ, अब नेपाल बनाउँछुः धवलशमशेर राणा



काठमाडौं, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके-१ का उम्मेदवार धवलमशेर जबराले आफ्नो जित स्वाभाविक भएको बताएका छन् ।
‘बाँके १ मा जित्न मलाई खासै महाभारत छैन, महाभारत त बरु अरुलाई छ । सबैजसो उम्मेदवार नो नट अगेनमा फसेका छन् । मैले नेपालगन्जमा दुई पटक लोकप्रिय मेयर भएर विकास दिएको छु । मैले नेपालगन्ज बनाएँ, अब नेपाल बनाउने हो । देश बनाउने हिम्मत, शक्ति, अनुभव, क्षमता र शिक्षा पनि मसँग छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राणाले भने । उनलाई नेकपा एमालेको पनि समर्थन छ ।

राणाले आफ्नो कारणले नेपालगन्जको अवस्था काठमाडौंभन्दा निकै राम्रो रहेको पनि स्मरण गराए । उनले भने, ‘मैले ३० वर्ष राजनीति गरें । पार्टीको उपाध्यक्ष, महामन्त्री पनि भएँ । नेपालगन्जको अवस्था अहिले काठमाडौंको भन्दा बिलकुल राम्रो छ । ५० वर्षका लागि फोहोरको व्यवस्थापन भएको छ । नेपालगन्जको जस्तो राम्रो सडक तपाईं कहीं पाउनुहुन्न । यो नै मेरो जितको आधार हो ।’

एमालेसँगको गठबन्धनबाट सबैलाई फाइदा हुने पनि उनले दाबी गरे । राणाले भने, ‘हाम्रो गठबन्धन सहज रुपमा चलेको छ । एमालेसँग तालेमल गर्दा मलाई मात्र होइन, एमालेलाई पनि फाइदा हुन्छ । जनतालाई पनि फाइदा हुन्छ । उनीहरु पाँच पहलमान मिल्न हुने, हामी दुई पहलमान मिल्न नहुने ?’ बाँकेमा सरकारी गठबन्धन भत्किएको पनि उनले दाबी गरे ।

नेकपा एमालेसँग मिल्ने एजेन्डामा अगाडि बढाएको र नमिल्ने एजेन्डा थाती राखेको पनि उनले बताए । उनले भने, ‘एमालेसँग हाम्रो कुनै लेनदेन भएको होइन । मात्र चुनावमा एकअर्कालाई सहयोग गर्ने समझदारी भएको हो । केपी शर्मा ओली मेरा आदर्श पुरुष हुनुहुन्छ तर मेरो नेता राजेन्द्र लिङदेन हुनुहुन्छ ।’

आगामी संसद्मा राप्रपा शक्तिशाली भएर आउने दाबी पनि उनले गरे । राणाले थपे, ‘म हावा तालमा यतिउति संख्या भन्दिनँ । संसद्मा अब राप्रपा ठूलो पार्टीका रुपमा प्रस्तुत हुनेछ । हामी संविधान परिवर्तन गर्न लागिपर्नेछौं । त्यो सम्भव नभए जनमतसंग्रह, सडकको विकल्प पनि छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot