Logo

नागढुंगा सुरुङमार्ग समयमा नै निर्माण असम्भव



काठमाडौं, कात्तिक २८ । देशकै पहिलो र बहुप्रतिष्ठित काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ ।

धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग तोकिएको अवधिमा नसकिने देखिएको हो । हालसम्म आयोजनाको समग्र भौतिक निर्माणको काम ४४ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको निर्माण अवधि अब करिब एक वर्ष बाँकी रहेकाले यस अवधिमा बाँकी ५६ प्रतिशत काम सम्पन्न गर्न कठिन देखिएको हो ।

आयोजनाको औपचारिक निर्माण २८ कात्तिक २०७६ देखि थालिएको हो । सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्नेगरी सम्झौता भएको थियो ।

कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको छ । कोभिडपछि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो । आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको छ । म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्नेछ ।

आयोजनाले नै तोकिएको समयमा निर्माण सम्पन्न गर्न कठिन रहेको जनाएको छ । यद्यपि, आयोजनाले सुरुङ निर्माण आगामी असारसम्म सक्ने तयारी भइरहेको जनाएको छ । सुरु निर्माणमा पनि भौगर्भिक समस्या देखिएका कारण सोचेअनुसार काम हुन नसकेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार मुआब्जालगायतका समस्याका कारण पनि निर्माणको काम प्रभावित बन्न पुगेको हो । करिब दुई रोपनी जग्गाको क्षतिपूर्ति दिए पुग्ने ठाउँमा २२ रोपनीभन्दा बढी जग्गाको क्षतिपूर्ति माग गर्दै स्थानीयले त्यहाँ निर्माण काम गर्न नदिएपछि त्यसले समस्या पैदा गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्