Logo

संसद् भवन निर्माणमा ढिलाइ



काठमाडौं, कात्तिक २८। प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन् । सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणमा भएको ढिलासुस्ती र आलटालका कारणले निर्वाचित भएर आउने सांसदहरूले नयाँ भवनबाट कार्यकाल शुभारम्भ गर्ने अवसर नपाउने भएका हुन् ।

यही आसन्न निर्वाचनबाट संघीय संसद्मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएर आउँदैछन् । सुरुको ठेक्का सम्झौता अनुसार संघीय संसद् भवनको संरचना २०७९ असोज १६ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। ठेकेदार कम्पनीको ढिलासुस्ती र समयमै साइट उपलब्ध नहुँदा अहिले संघीय संसद् भवनको भौतिक प्रगति ६० प्रतिशत मात्रै भएको छ ।

सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दीपक श्रेष्ठले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद्मा नयाँ निर्वाचित भएर आउने सांसदहरू तत्कालै सिंहदरबार सर्न सक्ने अवस्था नभएको बताए।अहिलेको संघीय संसद् भवन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चल्दै आइरहेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्