Logo

मुस्ताङ बढ्यो पर्यटकको चहलपहल



मुस्ताङ, कात्तिक २८ । कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो ।

पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताए । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उनले भने । ५० जनाको क्षमता रहेको होटलमा एक महिनादेखि भरी हुने गरेको शेरचनले जानकारी दिए ।

विशेषगरी मुक्तिनाथ मन्दिर दर्शन गर्न आन्तरिकसँगै भारतीय पर्यटकले होटल भरिने गरेको र मासिक १० देखि १५ लाख रुपियाँको कारोबार हुने गरेको उनले बताए । उनले भने, “उपल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ, जोमसोम आसपासका क्षेत्रमा विदेशी पर्यटकको चहलपहल छ ।”

मुक्तिनाथकै होटल नरलिङका सञ्चालक तेन्जिङ गुरुङले यतिबेला सबैभन्दा धेरै भारतीय पर्यटक मन्दिर दर्शन गर्न आउने गरेको बताए । मुक्तिनाथमा दर्शन गरेर फर्किने हुँदा आफ्नो होटलमा थोरै पर्यटक मात्र बास बस्ने र खाना खाएर जाने गरेको उनले जानकारी दिए।

यस्तै मुस्ताङको छुसाङस्थित एलिस होटलका सञ्चालक विदुर गुरुङले माथिल्लो मुस्ताङ कोरला नाकासम्म पुगेर मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने गरेको बताए ।

दिनमा एक सयदेखि दुई सय जना सीमानाकासम्म पुग्ने गरेको उनले जानकारी दिए । माथिल्लो मुस्ताङमा धेरै चिसो हुने हुँदा कतिपय पर्यटक मुक्तिनाथ दर्शन गरेर फर्कने गरेको उनको भनाई छ ।

यस्तै लोमान्थाङस्थित मिस्किट होम्स् एन्ड कफी सपका सञ्चालक करचुन गुरुङले सिजन भएकाले पर्यटकको सङ्ख्या बढेको जानकारी दिए । दैनिक ५० देखि ६० जनालाई खाना खुवाउने गरेको उनले जानकारी दिए। धेरैजसो पर्यटक मुक्तिनाथ दर्शन गरेर जाने हुँदा कम मात्र माथिल्लो मुस्ताङ घुम्न आउने गरेको उनको भनाई छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्