Logo

काठमाडौं–७ का स्वतन्त्र उम्मेदवार ढुंगेल आफ्नो जितबारे सुनिश्चित्, यस्ता छन् एजेण्डा (भिडिओसहित)



काठमाडौं, १ मंसिर । काठमाडौं–७ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार रहेका हेमबहादुर ढुंगेल (आक्रोश) ले आफ्नो जित सुनिश्चित् रहेको बताएका छन् । उनले अहिले दलप्रति जनताको वितृष्णा भएकोले जितको लागि सहज भएको बताएका हुन् । उनको चुनाव चिन्ह छत्रे टोपी हो ।

निर्वाचनको पूर्वसन्ध्यामा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले जिते जनताको पक्षमा काम गर्ने पनि प्रतिबद्धता जनाए । उनले आफ्नो चुनावी अपिलमा भनेका छन्–‘राजनीतिक दलले गरेको क्रियाकलाप र झुटको खेतिले गर्दा दलहरुप्रति जनता आक्रान्त बनेका छन् । यसको विकल्प खोज्दै यसपटक जनताले विकासप्रेमी, देशप्रेमी, मौलिक धर्म, संस्कृतिको संरक्षण गर्ने खालका स्वतन्त्र र सक्षम नेतृत्वलाई मतदान गर्ने पक्षमा छन् । विकासको मुल फुटाउने, भ्रष्टाचार न्यूनीकरण गर्ने, परिवर्तनशील युवा उम्मेदवार आफू भएकाले मैले यस निर्वाचनमा जितको सुनिश्चित्ताको लागि सहज रुपमा लिएको छु ।’

उम्मेदवार ढुंगेलले अन्य दलका नेताहरुले ठूलो कुरा र गर्नै नसकिने घोषणा गरेको पनि आरोप लगाए । उनले आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउँदै थपे–‘नागरिक हित र समृद्धि प्राप्तिका विरुद्धमा देखिएका अपवित्र गठबन्धन तथा आम मतदाता झुक्याउन बनाएका तालमेलका विरुद्धमा सशक्त विकल्पको रुपमा प्रस्तुत गर्न मेरो उम्मेदवारी हो, नेपाल–भारतबीच सन् १९५० को असमान सन्धि, अन्तर्राष्ट्रिय रुपमा बिग्रँदै गएको कुटनीतिक सम्बन्धलाई सुधार गर्न पनि म चुनावी मैदानमा छु ।’

उनले चुनावी एजेण्डामा घरघरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य र शिक्षा, महिलाहरुलाई सिपमूलक कार्य, कृषिमा आधुनिकीकरण गर्ने, उत्पादनलाई बजारको पहुँचमा पुर्याउने, कृषकको उत्पादनमा विमा तथा युवालाई स्वदेशमै रोजगारी दिने र जनताको आवाज निर्भिक भएर उठाउने प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्