Logo

ललितपुरका प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा



पाटन, १ मङ्सिर । प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । छ वटै स्थानीय तह रहेको यस जिल्लामा एक महानगरपालिका दुई नगरपालिका र तीन गाउँपालिका छन् ।

ललितपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि दाहाल र नेकपा (एमाले)का उम्मेदवार मधुसुधन पौडेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १० उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा १८ हजार तीन सय ३७ पुरुष, १८ हजार चार सय ४५ महिला र एक अन्य गरी ३६ हजार सात सय ८३ मतदाता रहेका छन् ।

यस प्रदेश निर्वाचन क्षेत्रमा महाङ्काल गाउँपालिकाका पूरै वडा, कोञ्ज्योसोम गाउँपालिकाको वडा नं। १, ४ र ५ तथा गोदावरी नगरपालिकाका १, २, ३, ४, ५ र १३ गरी १५ वडा पर्छन् । यस क्षेत्रमा ४७ मतदान केन्द्र रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

ललितपुर १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मीनकृष्ण महर्जन र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवार २०७४ को प्रदेशसभा निर्वाचनमासमेत प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यस बेला सञ्जेलले महर्जनलाई तीन सय मतले पछि पार्दै जीत हासिल गर्न सफल भएका थिए । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यहाँ १८ हजार आठ सय ९० पुरुष र १८ हजार सात सय २४ महिला गरी ३७ हजार छ सय १४ मतदाता रहेका छन् । यस प्रदेश निर्वाचन क्षेत्रमा वाग्मती गाउँपालिकाका पूरै वडा, कोञ्ज्योसोम गाउँपालिकाका वडा नं २ र ३ तथा गोदावरी नगरपालिकाका ६, ७, ८, ९, १० र ११ गरी १५ वडा पर्छन् । यस क्षेत्रमा ४५ मतदान केन्द्र रहेका छन् ।

ललितपुर २ प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार रिसा श्रेष्ठ र एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका उम्मेदवार श्रेष्ठ महालक्ष्मी नगरपालिकाका निवर्तमान प्रमुख हुनुहुन्छ । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी नौ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

यहाँ १९ हजार आठ सय तीन पुरुष र २१ हजार तीन सय २३ महिला गरी ४१ हजार एक सय ३० मतदाता रहेका छन् । यस प्रदेश निर्वाचन क्षेत्रमा महालक्ष्मी नगरपालिकाका पूरै वडा र ललितपुर महानगरपालिकाको वडा नं १७ गरी ११ वडा पर्छन् । यस क्षेत्रमा ४७ मतदान केन्द्र रहेका छन् ।

त्यस्तै ललितपुर २ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार र एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका उम्मेदवार शाक्य निवर्तमान वाग्मती प्रदेशसभा सदस्य हुनुहुन्छ भने चित्रकार संविधानसभा सदस्य हुनुहुन्छ । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

यहाँ १९ हजार नौ सय ३८ पुरुष र २० हजार आठ सय २९ महिला गरी ४० हजार सात सय ६७ मतदाता रहेका छन् । यस प्रदेश निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं। ६, ७, ८, ९, ११, १२, १६ र १९ गरी आठ वडा पर्छन् । यस क्षेत्रमा ४६ मतदान केन्द्र रहने छन् ।

ललितपुर ३ प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जन र एमालेका उम्मेदवार रघुनाथ महर्जनबीच प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनकातर्फबाटका उम्मेदवार महर्जन निवर्तमान वाग्मती प्रदेशसभा सदस्य हुनुहुन्छ भने रघुनाथ पुस्तक तथा स्टेशनरी व्यवसायी हुनुहुन्छ ।

यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ २३ हजार पाँच सय ८५ पुरुष र २५ हजार चार सय ९६ महिला गरी ४९ हजार ८१ मतदाता रहेका छन् । यस प्रदेश निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं ५, १३, १४, १५, २३, २४, २६, २७, २८ र २९ तथा गोदावरी नगरपालिकाका १२ र १४ गरी १२ वडा पर्छन् । यस क्षेत्रमा ५६ मतदान केन्द्र रहेका छन् ।

त्यस्तै ललितपुर ३ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठ र एमालेका उम्मेदवार प्रेमभक्त महर्जनबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका उम्मेदवार श्रेष्ठ पार्टीको जिल्ला सभापतिसमेत हुनुहुन्छ । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी नौ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ २१ हजार सात सय २१ पुरुष र २३ हजार तीन सय १४ महिला गरी ४५ हजार ३५ मतदाता रहेका छन् ।

यस प्रदेश निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं। १, २, ३, ४, १०, १८, २०, २१, २२ र २५ गरी १० वडा पर्छन् । यस क्षेत्रमा ४९ मतदान केन्द्र रहेका छन् । यस जिल्लामा एक लाख २२ हजार दुई सय ७४ पुरुष र एक लाख २८ हजार एक सय ३५ महिला गरी कूल दुई लाख ५० हजार चार सय १० मतदाता रहेका छन् । जिल्लाभर दुई सय ९० मतदान केन्द्र रहने निर्वाचन आगोगले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्