Logo

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक



काठमाडौं, मंसिर २ । स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।

प्राधिकरणका प्रबन्धक मुकेशराज दाहालका अनुसार स्वास्थ्य परीक्षण गराउँदा केही पाइलटको स्वास्थ्य समस्या रहेको पाइएको छ। ‘प्याराग्लाइडिङ उडानलाई व्यवस्थित र सुरक्षित बनाउन पाइलटको स्वास्थ्य परीक्षण गर्दा केही पाइलटमा समस्या भेटिएको र उनीहरूको स्वास्थ्यमा सुधार नआएसम्म उडान नगर्न भनिएको छ,’ दाहालले भने, ‘कुनै समस्या नहुने पाइलटले भने उडान गर्न सक्नेछन्।’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगिता दौरान प्रतिष्पर्धा गर्दा खेलाडी निसिम थापामगरको दुर्घटनामा परेर ज्यान गएपछि प्राधिकरणले पोखराको आकाशमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। छानविनपछि व्यवसायिक (टेण्डम) उडान गर्न प्राधिकरणले अनुमति दिए पनि पोखराको आकाशमा हुने एकल (सोलो) उडान अझै सुरू भएको छैन। दुर्घटनापछि रोकिएको उडान सुचारू गर्दा प्राधिकरणले प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था हवाई खेलकुद संस्था(ना) सँग सर्त राख्दै प्याराग्लाइडिङ उडान गर्ने सबै पाइलटको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएको थियो। त्यसपछि पाइलटले स्वास्थ्य परीक्षण गराएका थिए।

प्राधिकरणका प्रबन्धक दाहालका अनुसार २७० जना पाइलटले प्राधिकरणकै चिकित्सकसँग स्वास्थ्य परीक्षण गराएका थिए। ती मध्ये २४० जनामा कुनै समस्या देखिएको थिएन। बाँकी पाइलटमा स्वास्थ्य समस्या देखिएको थियो। सामान्य स्वास्थ्य समस्या देखिएका पाइलटलाई एकमहिना समय दिइएको उनले बताए। दाहालकै संयोजकत्वमा चिकित्सकसहितको टिमले पाइलटको स्वास्थ्य परीक्षण गराइएको थियो।

अहिले सामान्य समस्या देखिएका पाइलटले एकमहिनापछि पुनः स्वास्थ्य परीक्षण गराउने र उनीहरूमा समस्या नदेखिए उडान गर्न दिइने उनले बताए। १५ दिनभित्र पनि स्वास्थ्य परीक्षण नगराउने पाइलटलाई उडान अयोग्य ठहर्‍याउने निर्णय पनि प्राधिकरणले गरेको छ। प्राधिकरणले तोकेको स्वास्थ्यकर्मीसँग परीक्षण नगराए ती पाइलटले उडान गर्न नपाउने उनले बताए।

स्रोतका अनुसार कतिपय पाइलटको मुटुमा समस्या देखिएको छ। मुटुमा समस्या देखिएका पाइलटलाई मुटुरोग विशेषज्ञसँग परीक्षण गराउन निर्देशन दिइएको छ। त्यसैगरी १२ जना पाइलटको आँखामा कमजोरी रहेको पाइएको छ। उनीहरूलाई एकमहिनापछि फलोअप गरी स्वास्थ्य परीक्षण गर्न लगाइएको छ। त्यसैगरी कपितय पाइलटको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध प्रयोग गरेको रिपोर्ट आएको छ। लागुऔषध प्रयोग गरेको भेटिएका ती पाइलटलाई ६ महिनासम्म उडानमा सरिक हुन नपाउने गरी निलम्बन गर्ने र ६ महिनापछि ती पाइलटको पुनः स्वास्थ्य परीक्षण हुनेछ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्