Logo

शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?



काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्नुहुने उहाँका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नुहुने छ । उहाँ रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै हुनुहुन्छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नुहुने छ ।

अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसक्नुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै हुनुहुन्छ । सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नुहुने भएको छ ।

यस्तै लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नुहुनेछ । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । उहाँ सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नुहुनेछ ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै हुनुहुन्छ । उहाँ सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । श्रेष्ठ काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार हुनुहुन्छ ।

जसपाका प्रवक्ता मनिस सुमनले राजविराज–३ स्थित केएएमबी माविबाट मतदान गर्दै हुनुहुन्छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । महतो सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्नुहुने जनाइएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाडौँ–५ स्थित टोखा–६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्दै हुनुहुन्छ । यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दै हुनुहुन्छ । एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर– १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नुहुनेछ । संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नुहुनेछ । एमाले नेता रामबहादुर थापाले भरतपुर–१० नारायणी नमूना माविमा मतदान गर्नुहुनेछ । अर्का नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–९, अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्नुहुनेछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

यी नेताले आफैँलाई मतदान गर्न नपाउने

केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउनु हुनेछैन । मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको छ ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । त्यसैगरी आयुक्त ईश्वरीप्रसाद पौड्यालले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविमा मतदान केन्द्र र अर्का आयुक्त रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर केन्द्रमा मतदान गर्नुहुने छ । आयुक्त डा जानकीकुमारी तुलाधरले सुन्दरबजार नगरपालिका–२ महेन्द्र मन्दिर मावि परेवाडाँडा लमजुङमा र आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका–४ धापासीस्थित फैमालचुली मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस्