Logo

एकीकृत समाजवादीका कार्यकर्ताले गठबन्धनबाहिर मत दिएका छैनन्, अरूले उताउता गरेका हुन सक्छन्ः भुसाल



काठमाडौं, ५ मंसिर । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले केपी शर्मा ओलीले एमालेको सरकारको गफ लगाए पनि गठबन्धनका पक्षमा बहुमत आउने ठोकुवा गरेका छन् ।
‘संघ र प्रदेश निर्वाचनमा ६१ प्रतिशत मत खस्नु सामान्य नै हो । स्थानीय तहको चुनावमा पनि ६४ प्रतिशत मात्र खसेको थियो । मतदान गर्न नआउनेहरु गठबन्धनलाई मात्र मत हाल्न आउने पक्कै थिएनन् । यसबाट गठबन्धनलाई कुनै घाटा हुँदैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भुसालले भने ।
नेकपा (एकीकृत समाजवाद) ले उम्मेदवारी दिएका २० सिटमा नै राम्रो परिणाम आउने र गठबन्धनबाट जुनसुकै नेता प्रधानमन्त्री हुने सक्ने उनले दाबी गरे । भुसालले भने, ‘म भविष्यवाणीमा विश्वास गर्दिनँ । ओलीको सरकार कुनै पनि हालतमा बन्दैन । गठबन्धनले नै बहुमत ल्याउँछ, ढुक्क हुनोस् । गठबन्धनमा को प्रधानमन्त्री हुने भन्ने कुनै टुंगो भएको छैन । पाँच दलको नेतामध्ये जो कोही प्रधानमन्त्री हुन सक्छ ।’
आफ्नो पार्टीका कार्यकर्ताले गठबन्धनबाहिर मत नहालेको दाबी पनि भुसालले गरे । उनले थपे, ‘हाम्रा कार्यकर्ताले पार्टी र गठबन्धनबाहिर मत दिएका छैनन् । गठबन्धनका अन्य दलका कार्यकर्ताले असन्तुष्टिका कारण उताउता गरेका हुन सक्छन् । दलहरुप्रति जनतामा असन्तुष्टि छ, वितृष्णा छैन । त्यसको त्यसको जड ओली हुन् ।’ आफ्नो पार्टी गठबन्धनबाट नबाहिरिने र एमालेसँग कुनै पनि सहकार्य नहुने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्