Logo

गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना ज्यूँको त्यूँ



शंकर तिवारी (राजनीतिक विश्लेषक)–
निर्वाचनको परिणाम उत्साहजनक नै छ । एक तिहाइ क्षेत्रको मतगणना सुरु भइसकेको छैन । नयाँ जनमतले नेपाली कांग्रेसलाई पूर्णरुपेण इन्कार गरेको पनि छैन, स्वतन्त्र वा वैकल्पिक उम्मेदवारहरुलाई सम्पूर्ण रुपमा सदर गरेको पनि छैन ।
नेपाली कांग्रेसले हिमालपारिका जिल्लाबाट विजयको खाता खोलेको छ । मधेस प्रदेशमा सीके राउत र बागमती प्रदेशमा रवि लामिछानेको जबर्जस्त उदय हुँदा पनि कांग्रेसको उम्मेदवार भएको काठमाडौंका कतिपय क्षेत्रमा जोगिएका छन् । कैलाली र चितवनमा कांग्रेसको स्थिति राम्रो देखिएको छैन ।
अहिले नै गठबन्धनको बहुमत पुग्दैन भनिहाल्न सकिँदैन । बहुमतका लागि १३८ सिट चाहिन्छ । गठबन्धन दलहरुबाट नपुगे केही तानतुन होला । समानुपातिकमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत नहेरीकन बोल्नु हतार हुन सक्छ ।
नेपाली कांग्रेस संसदमा ठूलो पार्टी हुने रुझान देखिएको छ । संसदीय दलमा गगन थापा ब्याक हुने वा प्रतिस्पर्धा नगर्ने प्रश्नै छैन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई उभारमा लैजान गठबन्धन गर्ने भन्नुभएको थियो । पार्टी प्रत्यक्षतर्फ जम्मा ९१ मा सिटमा लडेको हो । गठबन्धनको बहुमत नआएको अवस्थामा उहाँले राजनेताको गुण देखाउन सक्नुहुन्छ ।
नेपाली कांग्रेसमा त्यस्तो इतिहास पनि छ । २०५१ मा मध्यवधि निर्वाचन हुँदा कांग्रेस दोस्रो पार्टीमा खुम्चिएपछि तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले अल्पमतको प्रधानमन्त्री बन्दिनँ भनेर पार्टीमा अर्को पुस्ताको सम्भावनाको ढोका खोलिदिनुभएको थियो र शेरबहादुर देउवाले मौका पाउनुभएको जगजोहर छ । गिरिजा, भट्टराई र गणेशमान सिंहजस्ता शीर्ष नेतात्रय हुँदाहुँदै आफू प्रधानमन्त्री भएको उहाँले पक्कै भुल्नुभएको छैन । अब उहाँले पनि गगन थापालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर ‘स्टेट्सम्यानसिप’ देखाउन सक्नुहुन्छ ।
अहिले कांग्रेसको जुन नतिजा छ, त्यसको जिम्मेवारी लिने काम देउवाकै हो । किनभने पार्टीको टिकट उहाँले नै बाँड्नुभएको हो । अबको राजनीतिक निर्णय कांग्रेसको भविष्यलाई हेरेर गर्नुपर्ने हुन्छ । देउवाको पुस्ताको ऊर्जाले संसद् र सडकको सामना गर्न सक्दैन कि भन्ने मलाई लाग्छ ।
मैले तपाईंको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममै भनेको थिएँ, ‘गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर जाने हो भने गठबन्धन जरुरी छैन ।’ अहिले पाँच दलीय गठबन्धनमा (माओवादी केन्द्रलाई) १५ र (एकीकृत समाजवादीलाई) १० गरी २५ सिट ज्यादा गएको छ । ती अधिकांश सिटमा विपक्षीले जित्ने स्थिति छ । गठबन्धनको नेता भएकाले त्यसको पनि जिम्मेवारी सभापतिले नै लिनुपर्छ ।
शेरबहादुर देउवा परिपक्व नेता हुनुहुन्छ । अब उहाँले पार्टीको विरासत ट्रान्सफर गर्ने बेला आएको छ । गठबन्धनको सुविधाजनक बहुमत आयो भने त प्रधानमन्त्रीमा उहाँको दाबी रहला । तर उहाँ पूरै अवधि प्रधानमन्त्री हुनुहोला भन्ने लाग्दैन । त्यसैले आगामी पाँच वर्ष गगन थापाको प्रधानमन्त्री हुने सम्भावना ज्यूँका त्यूँ छ । पहिलो वा दोस्रो पटक त अहिले भन्न सक्दिनँ । तर युवा पुस्तामा गगन थापालाई प्रधानमन्त्रीका रुपमा देख्न चाहने मत उल्लेख्य छ ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले तिवारीसँग गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्