Logo

निर्वाचनको दौरानमा १७ अर्ब निक्षेप बैकिङ प्रणाली



काठमाडौं, मंसिर ७ । कात्तिक महिनामा बैंकमा निक्षेप १६ अर्बले बढेको छ । आमनिर्वाचन हुनुभन्दा अगाडिको महिना भएकाले यो महिनामा बैंकमा निक्षेप बढ्ने अपेक्षा गरिएकोमा खासै निक्षेप बढ्न नसकेको देखिएको छ ।

बैंकमा गत असोज मसान्तमा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा कात्तिक मसान्तमा आइपुग्दा बैंकमा निक्षेप ४५ खर्ब ६३ अर्ब पुगेको छ ।

गत असोजको चौैंथो सातामा ४५ खर्ब १९ अर्ब रहेकोमा अन्तिम साताको २ दिनमा अप्रत्याशित रूपमा २८ अर्ब निक्षेप संकलन हुँदा बैंकको निक्षेप असोजमा ४५ खर्ब ४७ अर्ब पुगेको थियो ।

तत्पश्चात् घट्न थालेको निक्षेप कात्तिक तेस्रो साताबाट निरन्तर बढ्दै अहिले ४५ खर्ब ६३ अर्बमा आइपुगेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार कात्तिक पहिलो सातामा १७ अर्ब निक्षेप निकालिएको थियो । त्यसपछिको साता अर्थात् कात्तिकको तेस्रो सातासम्ममा आइपुग्दा २१ अर्ब निक्षेप थपिएको थियो । चौंथो सातामा भने १ अर्ब मात्र निक्षेप बढेको थियो ।

आमनिर्वाचनको एक साता अगाडि भने ह्वात्तै १७ अर्ब निक्षेप बैंकमा जम्मा भएको थियो । चौंथो सातामा ४५ खर्ब ४६ अर्ब रहेकोमा चुनावको अघिल्लो साता अर्थात् कात्तिकको अन्तिम साताको ४ दिनमा १७ अर्ब निक्षेप बैंकमा जम्मा भएको हो ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोजको अन्तिम साताको तुलनामा कात्तिक महिनाको अन्तिम सातामा विदेशी मुद्रा २ अर्ब घटेको छ । यसर्थ कात्तिकमा बढेको १७ अर्ब रुपैयाँ नेपाली मुद्रामा भएको निक्षेप हो । असोजको अन्तिम साता बैंकमा ४४ खर्ब ३१ अर्ब नेपाली मुद्रामा निक्षेप रहेकोमा कात्तिकको अन्तिम सातामा आइपुग्दा ४४ खर्ब ४८ अर्ब पुगेको छ ।

असोजको अन्तिम सातामा रहेको ४४ खर्ब ३१ अर्बमध्ये कात्तिकको पहिलो सातामा ८ अर्ब निकालिएको देखिएको छ । निर्वाचनको १ महिना अगाडिको असोजको दोस्रो सातामा पुनः १६ अर्ब निकालिएको तथ्यांक देखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्