Logo

लोसपा र जसपालाई उछिन्दै जनमत



काठमाडौं, मंसिर ७ । दुई मधेसवादी दलप्रति मतदाताले मतमार्फत असन्तुष्टि देखाएका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)प्रति मतदाताले असन्तुष्टि पोखेका छन् । यी दुई मधेसमा कमजोर देखिँदै गर्दा मतदाताले डा। चन्द्रकान्त राउत (सिके) नेतृत्वको जनमत पार्टीलाई अघि सारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना जारी नै छ ।

हिजो मंगलबार सार्वजनिक मत परिणामअनुसार जनमत पार्टीले मधेस प्रदेशको दुई सिटमा विजयी भएको छ । मधेस प्रदेशमा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ सिट रहेको छ । २०७४ को निर्वाचनमा संघ र प्रदेश दुवैमा बहुमत ल्याएका ठाकुर र यादव नेतृत्वका दल कमजोर देखिएका छन् । २०७४ को निर्वाचनमा दुबै दल गठबन्धन गरी निर्वाचनमा सहभागि भएका थिए । निर्वाचनको केही समयपश्चात् एकीकरण भए पनि फेरी विभाजन भएको थियो ।

अहिले जसपा एमालेसँग चुनावी गठबन्धन गरेको छ भने लोसपाले सत्तारूढ पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको छ । उनीहरूको मत विभाजन हुनु, मधेसका जनताका माग सम्बोधन गराउन नसक्नु, सधैं ‘बार्गेनिङ’ गर्दै सत्तामै रमाउनु, पार्टी विभाजन गर्नुलगायत कारण उनीहरूको मत घटेको विश्लेषण भइरहेको छ ।
राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्