Logo

एमालेको नेतृत्वमा फेरि पनि वामपन्थीको सरकार बनाउनुपर्छः युवराज ज्ञवाली



काठमाडौं, ७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीलाई समाप्त पार्ने गठबन्धन दलहरुको प्रयास असफल भएको दाबी गरेका छन् ।
‘अहिले सबै परिणाम आइसकेको छैन । प्रत्यक्षमा सोचेभन्दा अलि फरक आयो । तर पपुलर भोटमा एमाले नै अगाडि छ । हाम्रा अध्यक्ष केपी शर्मा ओलीले मात्र होइन, मैले पनि बहुमत ल्याउँछ भनेको थिएँ । माओवादी अलग भएको र माधव नेपालले पार्टी फुटाएर जाँदाको यति ठूलो अप्ठ्यारो अवस्थामा पनि एमाले लोकप्रिय मतमा पहिलो हुनु सामान्य कुरा होइन, एमालेलाई चकनाचुर पार्न सम्भव छैन भन्ने मतपरिणामले देखाएको छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले भने ।
यसपटकको निर्वाचन परिणामबाट एमाले र कांग्रेसलाई सच्चिनुपर्ने चेतावनी दिएको ज्ञवालीले औंल्याए । उनले भने, ‘युवा उम्मेदवारले जितेको वा पुरानाले हारेको भन्दा पनि एमालेको अप्रत्यासित नतिजाको मूलकारण पाँच दलीय गठबन्धन नै हो । कांग्रेस र एमालेलाई जनताले पूरै अस्वीकार गरेको पटक्कै होइन, चेतावनी दिएका हुन् । यो आफूलाई सच्चाउने अनुकूल अवसर हो । कमजोरी सुधार वा समीक्षा नगरे हामीलाई खतरा छ ।’
सबैखाले पार्टीमा आत्मकेन्द्रित व्यवहार र व्यक्तिवाद हावी भएको पनि उनले स्वीकारे । ज्ञवालीले थपे, ‘सबैखाले पार्टीमा आत्मकेन्द्रित व्यवहार र व्यक्तिवाद हावी छ । जनमत पार्टी र सरकारमा व्याप्त विकृति र विसंगतिमा सुधार गर भन्ने खालको छ । हामी जनतालाई मालिक ठान्छौं भने जनमतको सम्मान गर्नुपर्छ । पार्टीमा सुधार प्रक्रियाबाट हुन्छ । त्यसका लागि मैले पार्टी बैठकमा बोलेको छु । तर बाहिर बोल्दै हिँडेको छैन । आफूले पार्टीमा घनश्याम भुसाल र भीम रावललाई टिकट दिनुपर्छ भनेको पनि उनले दाबी गरे । उनले भने, अब हामी नसुध्रिए लोकतन्त्रले सुधार्छ ।’
निर्वाचन परिणामको गम्भीर आत्मसमीक्षा गरेर फेरि पनि एमालेको नेतृत्वमा वामपन्थीको सरकार बनाउनुपर्ने ज्ञवालीले औंल्याए । उनले भने, ‘निर्वाचन परिणामलाई लिएर अब दलहरुले कान समातेर उठबस गर्ने वा माफी माग्नेभन्दा पनि यी सबै कुराको गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नुपर्छ । एमालेको नेतृत्वमा फेरि पनि वामपन्थीको सरकार बनाउनुपर्छ ।’

तत्काल एउटै पार्टी भने नबन्ने उनको ठोकुवा छ । उनले भने, ‘विगतका कमीकमजोरी नदोहोर्याउने गरी हामी यो काम गर्न सक्छौं । किनभने मुलुकले आर्थिक र सामाजिक रुपान्तरण चाहेको छ । त्यसका लागि साझा न्यूनतम कार्यक्रम बनाउनुपर्छ । राजनीतिमा सबै कुरा सम्भव छ ।’



प्रतिक्रिया दिनुहोस्