Logo

कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी



काठमाडौँ,८ मँसिर । कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी हुनुभएको छ । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार दुई सय ७८ मत प्राप्त गर्नुभएको छ । जसपालाई नेकपा (एमाले)को समर्थन रहेको थियो । यस क्षेत्रमा ३५ हजार एक सय ६२ मत खसेको थियो ।

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी जित नजिक पुगेको छ । निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत लक्ष्मी ओडका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जित नजिक पुगेका हुन् । प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । उहाँले गणना हुन बाँकी मतभन्दा धेरै मतान्तरले अग्रता लिनुभएको छ ।

सहायक निर्वाचन अधिकृत ओडका अनुसार श्रेष्ठले २६ हजार एक सय ५५ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार सात सय १८ मत पाउनुभएको छ । उहाँहरुबीचको मतान्तर १० हजार चार सय ३७ रहेको छ ।

यस क्षेत्रमा कूल एक लाख सात हजार छ सय ७२ मतमध्ये ६४ हजार तीन सय ३२ मत खसेको थियो । त्यसमध्ये हालसम्म ५५ हजार सात सय २३ मत गणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत ओडका अनुसार आठ हजार छ सय नौ मत गणना हुन बाँकी छ । अहिलेसम्म दुई हजार नौ सय १० मत बदर भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्