Logo

चीनमा एकै दिन ३१ हजार कोरोना संक्रमित भेटिए, ८ जिल्लामा लकडाउन



एजेन्सी, ९ मंसिर । चीनमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । बिहीबार ३१ हजार ४५४ नयाँ संक्रमित फेला परेका छन् । यो कोरोना अवधिको उच्च हो। यसअघि यो अप्रिलमा सबैभन्दा बढी २८ हजार संक्रमित भेटिएका थिए । नेशनल हेल्थ ब्यूरोको तथ्याङ्क अनुसार, महामारी सुरु भएदेखि चीनको औसत दैनिक केसहरू रेकर्ड उच्च पुगेको भारतीय न्युज पोर्टल भाष्करले जनाएको छ।

यसैबीच, बढ्दो संक्रमणलाई मध्य नजर गर्दै चिनियाँ प्रशासनले झेङ्झाउ र आसपासका ८ जिल्लाको ६६ लाख जनसङ्ख्यालाई लकडाउन गरेको छ । यो आदेश अघि नै यस क्षेत्रका २ लाख जनसंख्या डेढ महिनादेखि लकडाउनमा छन् । नयाँ आदेश शुक्रबारदेखि लागू भएको हो ।

लकडाउन क्षेत्रमा आईफोन सिटी पनि समावेश छ, जहाँ एक दिन अघि अलगाव नीतिहरू र खराब कामको अवस्थालाई लिएर विद्रोह भएको थियो । त्यहाँ कर्मचारीहरुले विरोध जनाएका छन् । प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ । एप्पलका कर्मचारीहरू बाहेक नजिकैका अन्य कारखानाहरूमा पनि विरोधको आवाज उठेको थियो।

बेइजिङदेखि चोङकिङ र गुआन्झाउसम्मका प्रमुख सहरहरूमा केसहरू ठूलो मात्रामा स्थिर भएका छन् । संङ्क्रमणहरू अपार्टमेन्ट, कार्यालय र किनमेल केन्द्रहरूमा सीमित भएका आंकलन गरिएको छ। शहरहरूले फेरि आफ्नो परीक्षण बढाइरहेका छन्। साथै नयाँ अस्थायी अस्पताल निर्माणको कामलाई तीव्रता दिइएको छ ।

लकडाउनले चीनको व्यापारलाई निरन्तर असर गरिरहेको छ । विज्ञहरूका अनुसार चीनको जीडीपीमा २० प्रतिशत योगदान दिने क्षेत्र अझै पनि लकडाउन वा कडा प्रतिबन्धबाट गुज्रिरहेको छ। यसका केन्द्रीय बैंकहरूले पनि आगामी वर्ष चीनको वृद्धि ४.३ प्रतिशतबाट ४ प्रतिशत हुने अनुमान गरेका छन् । वृद्धिमा गिरावट आउनुको सबैभन्दा ठूलो कारण मुख्य व्यापारिक केन्द्र शाङ्घाईमा अप्रिल २ देखि लागू गरिएको दुई महिनाको लकडाउन पनि हो ।

सिनजियाङ र तिब्बतका क्षेत्रमा महिनौंदेखि लकडाउन जारी छ। कोरोना नियन्त्रणका लागि सांघाईजस्तो विशाल सहरलाई पूर्ण रुपमा तालाबन्दी नगर्नु पर्ने माग अधिकारीहरुले उठाएका छन् । कतिपयले शून्य कोभिड नीति छोड्ने राय पनि दिइरहेका छन्।

 



प्रतिक्रिया दिनुहोस्