Logo

कांग्रेसभन्दा ठूलो दल बन्न स्वतन्त्रहरुलाई पार्टीमा भित्र्याउने ओलीको तयारी



काठमाडौं, ९ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम जारी छ । दुई÷तीन जिल्लामा मतगणना अझै सुरु हुन सकेको छैन् । तर, अहिलेसम्म प्राप्त नतिजाअनुसार पहिलो दलको लागि कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । प्रत्यक्षतर्फ कांग्रेसले लिड गरेको छ भने समानुपातिकतर्फ एमाले अगाडि छ ।

दुवै दलले समान ८५/८५ सिट जित्ने आँकलन भैरहेको छ । यस्तामा पहिलो दल बनाउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र जितेकाहरुलाई पार्टीमा प्रवेश गराउने गृहकार्य थालेका छन् । हुन त ओलीले हिजादेखि नै सरकार गठनको लागि पहलकदमी लिन थालेका छन् ।

उनले नेकपा विभाजन भएपछि पहिलो पटक हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर सहकार्यको प्रस्ताव राखेको खुलेको छ । यद्धपी एमाले नेताहरुले भने अध्यक्ष ओलीले चुनावमा जितेकोमा बधाई साट्नमात्रै फोन गरेको विषयलाई माओवादीले सरकार गठनको अस्त्र बनाएर कांग्रेससँग बार्गेनिङ थालेको टिप्पणी गर्न थालेका छन् ।

तर, तिक्ततापूर्ण सम्बन्धलाई बिर्सिएर ओलीले दाहाललाई फोन गर्नु बधाई साटासाटमात्रै हो भनेर भन्न नसकिने राजनीतिक विषयका जानकारहरुको दाबी छ । ओलीले आफ्नै नेतृत्वमा सरकार गठनको लागि गृहकार्य थालेको उच्च स्रोतको दाबी छ ।

सहमतिको सरकार गठनमा कसैको पनि बहुमत नपुग्ने हुँदा राष्ट्रपतिबाट ठूलो दलको नेतृत्वमा बहुमतको सरकार गठनको आह्वान हुने हुँदा त्यसको लागि ओलीले एमालेलाई ठूलो दल बनाउन अहिलेदेखि नै होमवर्क गरेका छन् ।

विभिन्न क्षेत्रमा स्वतन्त्र रुपमा जितेकाहरुलाई उनले आफ्नो पार्टीमा प्रवेश गराउन सके भने कांग्रेसभन्दा ५/७ सिटले ठूलो नै बन्ने उनको विश्वास छ। निर्वाचनको विजयोत्सव मनाउन झापामा छन् । झापाबाट फर्किनेबित्तिकै प्रचण्डसँग गहन वार्ता गर्ने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्