Logo

देश विकासको पहिलो आधार सुशासनः कांग्रेस नेता डा कोइराला



काठमाडौँ,९ मँसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “देशभर मतगणना चलिरहेको छ, अहिले नै के हुन्छ भनेर आँकलन गर्नु उचित हुँदैन ।” उहाँले मुलुकको शासन सञ्चालनमा युवापुस्ताको उर्जासँगै अनुभवी प्रतिनिधि पनि आवश्यक हुने बताउनुभयो ।

बुवा स्व। केशवप्रसाद कोइराला र आमा नोना कोइरालाको कोखबाट २००७ भदौ ९ मा विराटनगरमा जन्मनुभएका उहाँले अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्ली, भारतबाट एमडी अध्ययन पूरा गर्नुभएको छ ।

राजनीतिक यात्रा सुरु गर्नु अघि चिकित्सक पेसामा आबद्ध उहाँ प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शाहीकालमा प्रहरी पहरा गण काठमाडौँमा तीन महिना थुनामा बस्नुभएको थियो ।

नेविसङ्घको स्थापनाकाल २०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध हुनुभएका डा कोइराला २०२८ सालमादेखि पार्टी सदस्यता लिएर सक्रिय राजनीति सुरु गर्नुभएको हो । नेपाली कांग्रेसको ११औँ, १२औँ र १३औँ महाधिवेशनसम्म केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका उहाँ १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदका लागि लड्नु भएको थियो ।

विसं २०६५ मा भएको संविधानसभा सदस्यको उपनिर्वाचनमा मोरङबाट निर्वाचित डा कोइराला २०७० मा पनि निर्वाचित हुनुभएको थियो । कोइराला २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का लालबाबु पण्डितसँग पराजित भए पनि यो निर्वाचनमा पण्डितसँग १२ हजारभन्दा बढी मतान्तरका साथ विजयी हुनुभएको हो । रासस



प्रतिक्रिया दिनुहोस्