Logo

जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि महिलाको सवालमा हामी एकमत हुन्छौंः जुली



काठमाडौं, १० मंसिर । धनुषा ३ की नवनिर्वाचित सांसद एवं नेकपा एमाले केन्द्रीय सदस्य जुलीकुमारी महतोले संसदमा महिला प्रतिनिधित्व घट्न दिन नहुने औंल्याएकी छन् । जुनसुकै दलबाट जिते पनि महिलाको सवालमा एकमत हुने पनि उनले बताइन् ।
‘जनसंख्याका हिसाबले महिला ५२ प्रतिशत छन् । संवैधानिक व्यवस्था अनुसार पनि संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुन्छ नै । तर पहिलेभन्दा कमजोर हुन दिनुहुँदैन । विशेषतः गठबन्धनको नाउँमा स्थानीय तहमा मेयर वा उपमेयर पनि महिलालाई उम्मेदवारी नै दिइएन । अहिले गठबन्धन वा तालमेलका कारण पनि महिला उम्मेदवारी कम भयो । जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि महिलाको सवालमा हामी एकमत हुन्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले भनिन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये अहिलेसम्म ८ जना महिलाले मात्र विजय हासिल गरेका छन् । मतगणना भइरहेका स्थानमध्ये सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १० हजार १५६ मतसहित र सुनसरी ३ मा एमालेकी भगवती चौधरी १४ हजार ६०० मतसहित अग्रता लिइरहेकी छन् भने उदयपुर १ मा एमालेकी मञ्जु चौधरी २० हजार १८० मतसहित कांग्रेसका नारायण खड्का (२१,८३३) लाई पछ्याइरहेकी छन् ।
प्रतिनिधिसभामा सबैभन्दा धेरै नेकपा एमालेका ३ जना चुनिएका छन् । एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह र कास्की–२ मा विद्या भट्टराई निर्वाचित भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा डा. तोसिमा कार्की निर्वाचित भएका छन् । त्यस्तै, माओवादी केन्द्रकी रेखा शर्मा (दाङ–२), नेपाली कांग्रेसकी सीता गुरुङ (तेह्रथुम) र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ (कैलाली–१) जितेकी छन् ।
नेकपा एमालेले सबैभन्दा धेरै ठाउँमा एमालेले धेरै ठाउँमा महिला उम्मेदवारी दिए पनि जित हासिल हुन नसकेको उनले औंल्याइन् । महतोले भनिन्, ‘अहिले महिला प्रतिनिधित्व मात्र नभएर कुनै पनि दलको एकल बहुमत पुग्ने देखिएन । हामी जनताले दिएको कुरा स्वीकार गरेर अघि बढ्छौं ।’ स्थायी सरकार नबन्ने अवस्थामा दलहरुले मिलीजुली सरकार बनाएर शान्ति, सुशासन, विकास र समृद्धिको दिशामा लाग्नुपर्ने उनको कथन छ ।
उनले जनकपुरधामको विकासमा निरन्तर लागिपर्ने अठोट पनि गरिन् । महतोले भनिन्, ‘मैले यहाँका जनतको दुःखसुखलाई नजिकबाट हेरेकी छु । विश्वमा पहिचान बनाएको पवित्र भूमि जनकपुर धामको धार्मिक पर्यटनको विकास, भौतिक पूर्वाधार विकास, बेरोजगारीको समाधान, फोहार व्यवस्थापन, स्वास्थ्य, शिक्षा, ऐतिहासिक धरोहरको सौन्दर्यीकरणमा ध्यान दिने सोचेकी छु ।’



प्रतिक्रिया दिनुहोस्