Logo

‘ओलीले बोलाउनासाथ प्रचण्ड ‘बाईबाई शेरबहादुर दाइ’ भनेर त हिँड्नुहुन्न नि’



काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सांसद नारायणप्रसाद दाहालले गठबन्धन सरकार बन्दा पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।
‘हरेक सांसदसँग प्रधानमन्त्री बन्ने योग्यता हुन्छ । अब रवि लामिछाने किन नहुने ? ज्ञानेन्द्र शाही किन नहुने ? सीके राउत किन नहुने ? राजेन्द्र लिङ्देन किन नहुने ? तर सरकार गठबन्धनबाट बन्छ । गठबन्धनका पार्टीहरुबाटै बन्छ । माओवादी केन्द्रभित्र अवसर आउने बित्तिकै अरुले दाबी गर्ने अवस्था छैन । हाम्रो चाहना निर्णय गर्दा सकेसम्म प्रचण्ड नै प्रधानमन्त्री हुनुहोस् भन्ने छ । प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना प्रचुर छ । नेपाली कांग्रेसभित्र तीनचार जना देखिनुभएको छ । अन्तिम टुंगो त अन्तिम रात नै लाग्ने हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै दाहालले भने ।
कांग्रेस इमानदार नहुने हो भने माओवादी केन्द्र आफ्नो निर्णय गर्न स्वतन्त्र भएको पनि उनले बताए । दाहालले भने, ‘कांग्रेसले गठबन्धन चाहिँदैन भन्ने हो भने माओवादी केन्द्र हातमा दही जमाएर, मुखमा पिडाँलु हालेर जमाएर बस्दैन । सापेक्षित स्थायित्व जहाँ आउँछ, माओवादी त्यहीँ हुन्छ । ओलीको गाडीमा दिउँसै सपना देख्नुहुन्छ । अहिले त त्यो सम्भावना भएन । ओलीले बोलाउनासाथ प्रचण्ड बाईबाई शेरबहादुर दाइ भनेर हिँड्नुहुन्न नि । पहिले छलफल हुनुपर्यो नि गठबन्धनमा ।’
यसपटक कांग्रेसले माओवादी केन्द्रलाई मात्र नभईकन कांग्रेसलाई नै धोका दिएको आरोप पनि उनले लगाए । दाहालले थपे, ‘त्यति मीठो रिजल्ट आएन । चितवनमा उमेश श्रेष्ठले नेपाली कांग्रेसबाटै धोका पाउनुभयो । विश्वनाथ पौडेल पनि त्यही भन्नुहुन्छ । तर माओवादीबाट सहयोग पाइनँ भन्नुहुन्न । नेतृत्व तहमा त त्यस्तो थिएन तर कांग्रेसले स्थानीय रुपमा के मिलाउन सकेन ? चितवन ३ (क) २०१७ सालदेखिको कांग्रेस गढ हो । शारदानगर, रामपुर, गुन्जनगर इलाकामा नै सूर्यकान्त अधिकारीले नै हार्नुभयो । हलोले जितेको छ । भोजराज अधिकारीले जितेनन् भन्नेमा कुनै अनौठो लागेको छैन । गठबन्धनमा गडबड छ त ।’
रोल्पामा कांग्रेस हराउन माओवादी लागेको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘हाम्रा बारेमा एकाध ठाउँमा प्रश्न छन् । तर नेपाली कांग्रेसभित्रबाट खुलै रुपमा आएको छ ।’
स्थापित राजनीतिक दलमा तलमाथि भइरहने तर रवि लामिछानेको रविन्द्र मिश्रको नियति हुन सक्ने पनि उनले चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्