Logo

देउवासँगको भेटवार्तापछि प्रचण्डको प्रतिक्रिया-यही गठबन्धन कायम हुन्छ, सरकार गठनको गृहकार्य थाल्छौं



काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही गठबन्धन नै कायम रहने बताएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि ऋषि धमलासँगको कुराकानीमा दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्री देउवाजीसँग छलफल भयो, आजको भेटवार्तामा चुनावको नतिजाबारे समिक्षा भयो, हामीले यो गठबन्धन कायमै राख्ने सहमति गरेका छौं ।’ चुनावको नतिजा नआउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई फोन गरेर सहकार्यको प्रस्ताव राखेपछि देउवाले पनि यसअघि नै दाहाललाई फोन गरेका थिए ।

उक्त फोनवार्तामा पनि देउवाले सरकार गठनबारे सहकार्यको प्रस्ताव राखेका थिए । आज भएको भेटमा पनि देउवाले सरकार गठनको विषयमा छलफल गरेका हुन् । दाहालले भने प्रदेशदेखि संघसम्म नै अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

उनले भने,‘अब निर्वाचनको सबै नतिजा आओस, त्यसपछि हामी फेरि छलफलमा बस्छौं । र, सरकार गठनलगायत समग्र निर्वाचनको विषयमा बृहत्त समिक्षा गर्छौं । तर, यो गठबन्धन कायम रहन्छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ ।’ पछिल्लो मतपरिणामले पनि सत्ता गठबन्धन बहुमतर्फ अग्रसर देखिएको छ।

प्रदेशमा सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बहुमत पुगेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने देखिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्