Logo

विद्यार्थीबाटै उदाएका विजेता



काठमाडौं, मंसिर ११ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रीय विद्यार्थी सङ्गठनको राजनीतिक पृष्ठभूमिबाट आएका उल्लेख्य उम्मेदवारले जितेका छन्।

प्रमुख दल कांग्रेस, नेकपा (एमाले), माओवादीलगायत साना दलबाट समेत पार्टीको ‘नर्सरी’ मानिने विद्यार्थी सङ्गठनलाई आधार बनाएर उदाएका व्यक्तिहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन जितेका हुन्।

प्रधानमन्त्री तथा नेपाल विद्यार्थी सङ्घका पूर्वसभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् कांग्रेस महामन्त्री तथा नेविसङ्घका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। काठमाडौं–४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका कांग्रेसकै महामन्त्री गगन थापा पनि सङ्घका पूर्वमहामन्त्री हुन्।

त्यस्तै काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेल तथा कञ्चनपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एनपी साउद पनि सङ्घका पूर्वअध्यक्ष हुन्।

किशोरसिंह राठौर बाँके–३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। सङ्घकै पूर्वअध्यक्षहरू धनराज गुरुङ पनि स्याङ्जा–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। तर आन्तरिक विवादका कारण यो क्षेत्रमा मतगणना सुरु भएको छैन।

सङ्घका पूर्वकेन्द्रीय उपाध्यक्षहरू डिल्लीराज सुवेदी बागलुङ–१ ‘ख’ तथा जित शेरचन बागलुङ–२ ‘क’बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन्। सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले दोलखाको प्रदेश ‘क’बाट प्रदेश सभा सदस्यको उम्मेदवार छन। तर विवादका कारण त्यहाँ मतगणना सुरु भएको छैन।

सङ्घकै पूर्वअध्यक्ष तथा गृहमन्त्री बालकृष्ण खाण रुपन्देही–३ बाट तथा पूर्वअध्यक्ष बलबहादुर केसी सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भए पनि पराजित भए।

नेकपा (एमाले)ले पनि अनेरास्ववियुको पूर्वअध्यक्षदेखि केन्द्रीय कमिटीमा रहेर राजनीति गरेकाहरू सङ्घ र प्रदेश सभाको सदस्यमा विजयी भएका छन्। सङ्गठनका पूर्वअध्यक्ष तथा पार्टीका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।

सङ्गठनकै पूर्वअध्यक्ष ठाकुर गैरे पाल्पा–२ बाट र सङ्गठनका पूर्वउपाध्यक्ष महेश बर्तौला मकवानपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

सङ्गठनका पूर्वअध्यक्ष हिक्मत कार्की झापा–५ ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। हाल प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पनि तत्कालीन नेकपा (एमाले)निकट अनेरास्ववियुकै पूर्वअध्यक्ष हुन्। उनी हाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीतर्फबाट भोजपुर–१ ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

सङ्गठनको केन्द्रीय कमिटीमा रहेर लामो समय काम गरेका शिशिर पछाई जुम्ला प्रदेश सभा ‘ख’बाट निर्वाचित भएका छन्। दाङ–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका पार्टीका महासचिव तथा सङ्गठनका पूर्वअध्यक्ष शङ्कर पोखरेल तथा अनेरास्ववियुकै केन्द्रीय कमिटीमा रहेर काम गरिसकेका र महेन्द्र रत्न क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका विशाल भट्टराई खोटाङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेपनि दुवै जना पराजित भएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्