Logo

जनमत एमाले नेतृत्वकै सरकारको पक्षमा छः ठाकुर गैरे



काठमाडौं, ११ मंसिर । पाल्पा २ का नवनिर्वाचित सांसद एवं नेकपा एमालेका नेता ठाकुर गैरेले पाँच दलीय गठबन्धन हुँदा पनि जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताएका छन् ।
‘निर्वाचनमा नेकपा एमाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने भनेर गएको हो । जनमतको ट्रेन्डले पनि त्यही आवश्यकता उजागर गरेको छ । जनचाहना एमालेको सरकार बनोस् भन्ने छ । तर कुनै पनि दलको एकल बहुमत छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गैरेले भने ।
गठबन्धन कसरी अगाडि बढ्छ, त्यस आधारमा एमाले अघि बढ्नुपर्ने पनि उनले औंल्याए । गैरेले थपे, ‘सरकार बनाउने, मन्त्री मात्र हुने उद्देश्य राख्नुको अर्थ छैन । जनताको चाहना पूरा हुन्छ कि हुँदैन भन्ने प्रमुख कुरा हो । गठबन्धनको पोजिसन हेरेर एमालेले कस्तो सरकार बनाउने, त्यसका लागि कोकोसँग मिल्ने भन्ने तय हुन्छ ।’
उनले आफ्नो विजयभन्दा पनि पाल्पा २ का जनताकै विजय भएको टिप्पणी गरे । गैरेले भने, ‘मलाई विजय गराएको भन्दा पनि जनताले जिम्मेवारी दिएका हुन् ।’ पुराना योजना सम्पन्न गर्ने र नयाँ योजना थाल्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्