Logo

एक हजार ९२१ जनाको धरौटी गुम्ने खतरा



काठमाडौं, मंसिर ११ । हालसम्म सार्वजनिक भएको नतिजाका आधारमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ करिब पाँच सय जनाले मात्र धरौटी बचाउन सफल भएका छन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले उम्मेदवारी दिँदा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाएको धरौटीबापतको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारीका लागि १० हजार रुपियाँ धरौटी राख्नुपर्ने नियम छ।

निर्वाचनमा देशभर दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये एक हजार ९२१ जनाको धरौटी सुरक्षित हुन सकेको छैन। हालसम्मको परिणामअनुसार ४९१ जना उम्मेदवारले धरौटी फिर्ता पाउने भएका छन्। यीमध्ये केही जिल्लाको मतगणना भइरहेकाले अन्तिम परिणाम आएको छैन तर बाँकी मतगणनाका आधारमा अधिकांशको धरौटी जोगिने सम्भव छैन।

मतगणनाका आधारमा सबैभन्दा बढी बागमती प्रदेशमा ५१२ जनाको धरौटी गुमेको छ। सबैभन्दा कम कर्णालीमा ४७ जनाको धरौटी जोगिएन। प्रदेश नम्बर १ मा ३७० जना, मधेश प्रदेशमा ४९७ जना, गण्डकी प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २७३ जना र सुदूरपश्चिम प्रदेशमा ८३ जनाको धरौटी गुमेको अवस्था छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्