Logo

पुनः मतदान नभए परिणाम स्वीकार गर्दिनँः झलनाथ खनाल



काठमाडौं, ११ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं इलाम १ का उम्मेदवार झलनाथ खनालले लाई झलनाथ खनालले पुनः मतदान नभए परिणाम स्वीकार नगर्ने बताएका छन् ।
‘इलाम १ को मतगणनामा हामी सहभागी छैनौं । मुचुल्का एउटा छ, मत अर्को छ । कहीं बढी मत छ, कहीं कम मत छ । मुचुल्काभन्दा बढी २६६ मत कसरी आउँछ ? कति मतपत्र गायब छन् । जनताले दिएकोभन्दा अर्कै मत कसले घुसायो ? निर्वाचन धाँधलीपूर्ण भएको छ । यसले निर्वाचन आयोगको प्रतिष्ठामा गिरावट आएको छ । लोकतन्त्रलाई कमजोर बनाएको छ । यसलाई बदर गरेर पुनः मतदान नभए परिणाम स्वीकार्न सकिँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने ।
उनले निर्वाचन आयोग जोरजबर्जस्तीमा लागेको आरोप पनि लगाए । खनालले थपे, ‘हारजित सामान्य हो । तर निर्वाचन स्वच्छ र पारदर्शी हुनुपर्छ । यस्तो धाँधलीपूर्णको निर्वाचनको अर्थ छैन । निर्वाचन आयोगले जबर्जस्ती गर्न खोजेको छ । यो मत बह्माजीले आएर हालिदिए कि महादेवले आएर हालिदिए ? निर्वाचन आयोगसँग कुनै जवाफ छैन ।’
महेश बस्नेतले जिते भने दिनुहुन्छ कि दिनुहुन्न भन्ने पत्रकार धमलाको प्रश्नमा खनालले भने, ‘अब १२ हजार मत गन्न बाँकी छ । मेरो पक्षमा आओस् वा महेश बस्नेतको पक्षमा आओस् । तर अनियमितता, धाँधलीका विरुद्ध मेरो आवाज हो । म मतगणनाको त्रुटिपूर्ण कुरा उठाइरहेको छु । यस्तो देख्दादेख्दै गलत कुरा कसरी स्वीकार्ने ? यो कसरी जनमत हुन्छ ? म स्वीकार त गर्दिनँ ।’
गठबन्धन गर्दा एकीकृत समाजवादीलाई घाटा लागेको हो भन्ने अर्को प्रश्नमा खनालले भने, ‘निर्वाचनको सबै परिणाम आइसकेको छैन । तर गठबन्धनमा हामीले उठाएका ६० प्रतिशत उम्मेदवारले जितिसक्नुभयो । गठबन्धन सकारात्मक नै रह्यो । प्रदेश निर्वाचन क्षेत्रमा कुनै लाभ देखिनँ । प्रदेशमा हामीले १३ सिट जितेका छौं । समानुपातिक निर्वाचनमा ठूलै नोक्सान भएको छ । यसमा नीतिगत, संगठनात्मक, कार्यशैलीगत कारण छ । यसको निर्ममतापूर्वक समीक्षा गर्छौं । पार्टी निर्माणको प्रक्रियामा अलि भिन्न ढंगले जानुपर्छ ।’ एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने आशा रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्