Logo

देव गुरुङको पराजयमा ‘कांग्रेसको अन्तर्घात कि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल’ ?



काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनको मत एकै ठाउँमा नझर्नु शंकास्पद भएको बताएका छन् ।
‘निर्वाचनमा हारजित त भइरहन्छ । मैले जनताको मस्तिष्कमा जितेको देखिन्छ । तर प्राविधिक रुपमा दुई हजार भोट पुगेन । लमजुङमा कांग्रेस र माओवादीको भोट जोड्दा मैले सहज ढंगले जित्नुपर्ने हो । तर कांग्रेसको भोट एक ठाउँमा झर्न सकेन । तीनतिर बाँडियो । एकथरी भोट गठबन्धनमै बस्यो, अर्काथरी भोट घन्टी र सूर्यमा गयो । कांग्रेस संस्थागत रुपमा मेरो विपक्षमा लाग्यो त म भन्न सक्दिनँ । तर घन्टीमा गएको आठ हजारमध्ये ९० प्रतिशत भोट कांग्रेसकै हो । सूर्यलाई पाँच हजार भोट गयो । तर दुइटा प्रदेशमा चाहिँ कांग्रेसमै गयो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने ।
उनले कांग्रेसका समर्थकले सहकार्यलाई आत्मसात् गर्न नसकेको आरोप पनि लगाए । गुरुङले भने, ‘कांग्रेस र माओवादी सहकार्य नेतृत्व तहमा भयो, तल्लो तहमा जाँदा भोट ट्रान्सफर भएन । कांग्रेसले सबै ठाउँमा सहयोग गरेन भन्ने पनि होइन । जति परिणाममा हुनुपर्ने हो, त्यति भएन । मतदान प्रक्रियामा माओवादीले कांग्रेसलाई सहयोग गरे पनि कांग्रेस समर्थकले दलीय प्रणालीलाई आत्मसात गरेनन् । अहिलेसम्म हामी पाँच दलीय गठबन्धनमै छौं । यसको समीक्षा होला । के सहमति हुन्छ, त्यो पनि हेर्नुपर्ने हुन्छ ।’
तपाईंको हारमा कांग्रेसको अन्तर्घात मात्र हो कि अन्तर्राष्ट्रिय केन्द्रको चलखेल पनि जिम्मेवार छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘नेपाली कांग्रेसका समर्थकको भोटमा एकरुपता गर्न सकिएन । यसमा हाम्रो पनि सीमा रह्यो । यसले मुलुकलाई राजनीतिक स्थिरतामा जान दिएको छैन । कतिपय शक्तिकेन्द्रले अस्थिर र कमजोर बनाउने चलखेल गर्न खोजेको छ । स्वतन्त्र भन्ने नाममा निर्दलीयतातिर जाने, राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने खेल भयो । अहिलेको स्थितिमा यसको तथ्य प्रमाण जुटाउन नसकिएला । चिन्तन र प्रवृत्तिको कोणबाट हेर्दा देशभक्त र राष्ट्रभक्तलाई निर्वाचनमा सहज रुपमा जित्ने र जिताउने कुरामा अवरोध भएको छ । यदि एमसीसीको विरोधका कारण निर्वाचनमा असर गरेको हो भने मैले त्यसमा आत्मगौरव नै गरेको छु । जाबो पराजय त परै राखौं, जीवन नै त्याग्न तयार छु ।’



प्रतिक्रिया दिनुहोस्