Logo

उम्रा गर्न जानेको बिदाइ



काठमाडौँ,११ मँसिर । इस्लाम धर्मावलम्बीको प्रमुख स्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिम सुमदायका अगुवालाई आज यहाँबाट बिदाइ गरिएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमलाई नेपालगञ्ज विमानस्थलबाट बिदाइ गरेको जानकारी दिनुभयो । उम्रा गर्न जान लागेका यात्रीलाई बिदाइ गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागिसमेत प्रार्थना गर्न आग्रह गर्नुभएको छ ।

“उम्राको निश्चित समय हुँदैन जतिबेला पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो । प्रमुख धार्मिकस्थल मक्का, मदिनाको दर्शन गरी प्राथना गर्ने प्रक्रियालाई उम्रा भन्ने गरेको बताइएको छ ।

अध्यक्ष शाहले हजका लागि खास समय भए पनि यो जुनसुकै महिनामा पनि गर्न सकिने जानकारी दिँदै आजमात्रै त्यसका लागि १२ जना मुश्लिम अगुवालाई बिदाइ गरेको बताउनुभयो । नेपालगञ्जबाट मात्रै उम्राका लागि ६० जना मक्का मदिना जानुभएको छ ।

उम्रा गरेपछि मनोकामना पूरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत)मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामनासमेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ ।

संविधानसभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकी, जामा मस्जिदका पूर्वध्यक्ष अब्दुल रहमान मियाँलगायतका व्यक्तिले नेपालगञ्ज विमानस्थल पुगेर बिदाइ गर्नुभएको थियो । उहाँहरु साउदीको मक्का र मदिनामा करिब २० दिन उम्रा गर्नुहुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्