Logo

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको हर्षोल्लास



जनकपुरधाम, मंसिर १२ । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी सीताबीच विवाह भएको दिनको सम्झनामा जनकपुरधाममा सप्ताहव्यापी मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लासपूर्वक मनाइँदैछ ।

जनकपुरधामको जानकी मन्दिरलाई झिलीमिली पारी बेहुलीझैँ सजाइएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको बाह्रबिघा रङ्गभूमि मैदानमा सोमबार दिउँसो रामसीताको स्वयम्बर हुने र राति मैथिल वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए ।

स्वयम्बरका लागि जनकपुरधामको राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट माता जानकीको डोला बाह्र बिघा रङ्गभूमि मैदानमा जाने गरेको र त्यहाँ हजारौँ श्रद्धालुबीचमा स्वयम्बरको कार्यक्रम हुने महन्थ दासले बताए ।

आइतबार वैवाहिक कार्यक्रमका लागि वेदी तयार पार्न जनकपुरधामको गङ्गा सागरबाट माटो ल्याएर मटकोर कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बाजागाजाका साथ निस्किएका साधुसन्त र मैथिल महिलाको समूहले गङ्गासागर पोखरीबाट माटो कोरी ल्याएका छन् ।

उक्त स्थानमा विभिन्न खालका गीतनादहरु पनि प्रस्तुत गरिएको थियो । यस अघि तिल्कोत्सव, धनुष यज्ञ, फूलवारी लीला र नगर दर्शनको कार्यक्रम सम्पन्न भइसकेको छ ।जनकपुरधामको विभिन्न मठमन्दिरमा श्रद्धालुहरुको भीड लागेको छ ।

विवाह पञ्चमीमा सहभागी हुन लाखौंको सङ्ख्यामा तीर्थालुहरु अहिले जनकपुरधाम आएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्