Logo

अन्य कोष जस्तै आकर्षक सुविधा ल्याउँदै सामाजिक सुरक्षा कोष



काठमाडौं, मंसिर १२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।

पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा परिमार्जन हुँदै आएका र यसबाट सामाजिक सुरक्षाको दायरा फराकिलो भएको उनको भनाइ छ ।

कोषको दायरा बढाउँदै श्रमिकका परिवारलाई उद्यमशीलतासँग जोड्ने सरकारको योजना रहेको पनि उनले बताए ।

श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले कोषमा आबद्ध हुन रोजगारदाता र श्रमिकले कुनै अप्ठ्यारो मान्न नहुने भन्दै कोषले योगदानकर्तालाई आकर्षक सेवासुविधा प्रदान गर्दै आएको बताए ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा संशोधन गरी सुविधालाई योगादनमैत्री बनाउँदै लगिएको बताए । योगदानकर्ताका पति वा पत्नीको औषधि उपचार खर्च र योगादनकर्ताको घातक रोग उपचारको खर्च कोषले व्यहोर्ने गरी कार्यविधि संशोधन गरिएको उनको भनाइ छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव नवराज दाहालले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा सरकारले क्रियाशिलता देखाउनुपर्ने बताए ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमिकलाई तत्काल सामाजिक सुरक्षाको योजनामा ल्याउन माग गरे ।

गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्ने बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्