Logo

फेरि पनि देउवा, प्रचण्ड र ओली तीनै जना प्रधानमन्त्री हुन्छन्ः विश्लेषक



काठमाडौं, १२ मंसिर । राजनीतिक विश्लेषक डा. प्रेम शर्माले अबको त्रिशंकु संसद्मा प्रमुख दलका तीन नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् ।
‘दलहरुले बहुमत पाउने अवस्था थिएन । मतदाताले ब्यालेट (भोट) सिफ्टिङ गर्दै छन् भन्ने संकेत स्थानीय तहको निर्वाचनले नै गरिसकेको थियो । जित्ने आत्मविश्वास नभएरै दलहरुले गठबन्धन गरेका थिए । त्यो सिद्धान्तविहीन र क्षणिक समाधानलाई मतदाताले पत्याएनन् । अबको त्रिशंकु संसदमा तीनै जना प्रमुख नेता फेरि प्रधानमन्त्री बन्छन् । सुरुमा देउवा भए पनि पछि प्रचण्ड र केपी ओली बन्छन् । संविधान र प्रणालीमा सुधार गरिएन भने यस्तै चलिरहन्छ । प्रचण्डलाई ओलीको फोन त्यही रिहर्सल हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. शर्माले भने ।
देउवाले गठबन्धन गरेर नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संकटमोचन गराइदिएको पनि उनले बताए । तर देउवामा फेरि प्रधानमन्त्री बन्ने कुनै योग्यता नभएको उनको टिप्पणी छ । उनले भने, ‘उनी सातचोटि सांसद निर्वाचित भएका र पाँच पटक प्रधानमन्त्री भइसकेका परीक्षित व्यक्ति हुन् । उनमा फेरि प्रधानमन्त्री बन्ने कुनै योग्यता छैन । तर पनि गगन थापालाई दिँदैनन् । गगनलाई अरु दलले मान्ने स्थिति देखिँदैन ।’
देउवाहरुलाई यसपटक पनि जिताइएकामा उनले असहमति जनाए । डा. शर्माले भने, ‘यस्ता व्यक्तिलाई अझ पनि घण्टी बजाइएको छैन, शंख मात्र बजाइएको छ ।’ संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्न पाइँदैन भनेर अंकुश लगाइएकामा उनको विमति छ ।



प्रतिक्रिया दिनुहोस्