Logo

प्रमुख तीन दलमा प्रमुख नेतालाई कुनै चुनौती छैनः विश्लेषक देवेश झा (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । राजनीतिक विश्लेषक देवेश झाले अबको पाँच वर्षमा सरकारहरु आयाराम-गयाराम भइरहने टिप्पणी गरेका छन् ।
‘यो नौलो परिणाम होइन । कुनै पनि दलले बहुमत प्राप्त गर्ने स्थिति नै थिएन । जस्तो जनादेश आए पनि सर्वोच्चको फैसलाअनुसार अबको पाँच वर्षसम्म संसद चलाउनुपर्छ । सरकारहरु आयाराम-गयाराम भइरहने छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भने ।

तत्काल भने पाँच दलीय गठबन्धनबाट शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने उनले ठोकुवा गरे । झाले थपे, ‘अब फेरि शेरबहादुर नै प्रधानमन्त्री बन्छन् । किनभने कांग्रेसको सिट बढेको छ । २३ सिटबाट ५३ भएको छ । उनलाई कुन कारणले बन्न पाउँदैनस् भन्ने ? अन्य घटकका लागि पनि कम्फरटेबल नेता देउवा नै हो । उनीहरु विकल्पमा किन जान्छन् ? जनादेशलाई पनि स्वीकार गर्नुपर्छ ।’

अहिले देउवालाई पन्छाएर प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना नदेखेको पनि उनले बताए । झाले भने, ‘प्रचण्डको सिट ३६ बाट १७ मा झरेको छ । केपी ओली ८० बाट ४३ मा तल ओर्लेको अवस्था छ । ताइवानमा राष्ट्रपतिले स्थानीय तहमा दलीय प्रदर्शन राम्रो नभएकाले पार्टीको नेतृत्व छाडेको समाचार आएको छ । हाम्रो देशमा तीन दल तीन जना नेताको कब्जामा छ । उनीहरुको कसैसँग प्रतिस्पर्धा छैन, चुनौती छैन ।’

 



प्रतिक्रिया दिनुहोस्