Logo

उदयपुर–१ मा पूर्व सहमतिको आधारमा मतगणना अघि बढाउन आयोगको निर्देशन



काठमाडौं, १२ मंसिर । गत आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना अझै पनि जारी छ ।

निर्वाचन आयोगले उदयपुर–१ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । गणनापुर्व भएको सहमतिका आधारमा गणनाकार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको हो ।

मतगणनाको क्रममा १० वटा ब्यालेट बक्समा उदयपुर १ (२)को प्रदेशसभाको १०० मत भेटिएपछि दलहरुको आग्रहमा गणना स्थगित भएको हो ।

आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो सम्बन्धमा मतगणनापूर्व जे जस्तो सहमति भएको हो सो सहमतिको आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।’

सो क्षेत्रमा ७६ हजार ७५६ मत खसेकोमा ६३ हजार ८० मत गणना भइसकेको छ । नेपाली कांग्रेसका नारायण खड्काले १८ सय २५ मतान्तरले अग्रता लिएका छन् । उनले २७ हजार ४८४ मत प्राप्त गर्दा एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्